गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने भएको हो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले भन्नुभयो, “विदेशी नागरिकको बसोबास, सुरक्षा, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनको उद्देश्यसाथ यो प्रणाली लागु गर्न लागिएको हो । यसले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र नेपाल बसाइका गतिविधि निगरानीमा राख्न र आपत्कालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने छ ।”
यो प्रणाली पहिलो चरणमा असोज १ गतेबाट काठमाडौँ उपत्यकाभित्रका तारे होटेलमा लागु हुने बताउँदै उहाँले दोस्रो चरणमा मङ्सिर १ गतेबाट सबै तारे होटेल, हवाई सेवा कम्पनी, ट्रुर्स एन्ड ट्राभल्स, मनी एक्स्चेन्जर, सबै प्रकारका होटेल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवा लागु गरिने जानकारी दिनुभयो ।
यस प्रणालीमार्फत पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्नुका साथै नेपाल प्रवेश गरेको विदेशी नागरिक कुन होटेलमा बसेको छ, कति दिन बस्यो, वर्तमान अवस्थामा कहाँ र कुन स्थानमा बसेको छ भन्नेबारे यकिन तथ्याङ्क सरकारसँग रहने जनाइएको छ । यसका लागि पर्यटकले होटेलमा प्रवेश गर्नुअघि अनलाइनमार्फत अनिवार्य रूपमा विभागको यो प्रव्रिmया पूरा गर्नुपर्ने छ ।
देशभर यो प्रणाली लागु गर्ने तयारी अनुसार विभागले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध गराउने भएको छ ।