• १८ भदौ २०८२, बुधबार

महिला आन्दोलनका साझा एजेण्डामा एकताबद्ध हुनुपर्छ – उपाध्यक्ष शाक्य

blog

अखिल नेपाल महिला सङ्घ र साधना स्मृति समाजद्वारा संयुक्तरुपमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रम । तस्बिर : सागर बस्नेत ।

काठमाडौँ, भदौ १७ गते । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनका साझा एजेण्डामा एकताबद्ध हुनपर्ने बताउनुभएको छ । 

नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एवम् प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा मंगलबार अखिल नेपाल महिला सङ्घ र साधना स्मृति समाजद्वारा संयुक्तरुपमा आयोजित  पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा राख्नुभयो । महिला आन्दोलनका विषय साझारुपमा अघि बढ्न सकेको अवस्थामा यसको उपलब्धि हुने उहाँको भनाइ छ । 

उपाध्यक्ष शाक्यले भन्नुभयो, “महिला सहभागीता ३३ प्रतिशत मात्रै छ । संविधानमा महिलाको जुन अधिकार पायौं, हिजो अनेमसङ्घले मात्रै गरेको भए, नेपाल महिला सङ्घले मात्रै या अरु कुनैले मात्रै गरेको भएपनि यो प्राप्ति सम्भव हुने थिएन । पार्टीको साझा एजेण्डा बनाउने, महिलाको साझा एजेण्डा बनायौं, त्यसपछि संसदको विषय बनायौं अनि संविधानको विषय बनायौं ।”

उहाँले अहिलेको अवस्थामा महिला आन्दोलन शिथिल भएको भन्नुहुँदै साझा एजेण्डामा सबैको एकताले नै प्राप्ति सम्भव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिला आन्दोलन शिथिल भएको जस्तो लाग्छ । हिजोको महिला आन्दोलन जसरी अगाडि बढ्यो अहिले शिथिल भएको हो कि । एजेण्डा सझा बन्नुपर्छ । साझा एजेण्डाले मात्र प्राप्ति हुन्छ भन्ने कुरा देखाइसक्यो नि त ।”

उहाँले महिलाले प्रमुख पदको ईच्छा राखेर मात्र नहुने यसको लागि सक्षमता तथा योग्यताको पनि विकास गर्नुपर्ने धारणा राख्नुभयो । यद्दपि, महिलाको ईच्छा हुँदाहुँदै राजनीतिबाट विमुख हुनुपर्ने बाध्यता अझै पनि रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “प्रमुख पद पाउनुपर्छ भनिरहँदा हामी आफू सक्षम हुने कि नहुने । अध्ययनशील हुने कि नहुने, मिहेनत गर्ने कि नगर्ने । अहिले महिला आन्दोलन धेरै फराकिलो भएको छ ।”

पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) की शशी श्रेष्ठले साझा सवालमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिलेको लक्ष्य समाजवाद भएको तर, समाजवाद प्राप्तिपछि पनि महिलामाथिको विभेद रहीरहने हुनाले साझा मुद्दामा संयुक्तरुपमा लाग्नुपर्ने उहाँको भनाइ छ । 

पूर्व गण्डकी प्रदेश प्रमुख सीता पौडेलले अहिले महिला आन्दोलनको उपलब्धि अग्रज महिलाको सङ्घर्षको विरासतमा भएको बताउनुभयो । महिला आन्दोलन सशक्तरुपमा अघि बढे मात्रै प्राप्त उपलब्धिको रक्षा हुने उहाँको भनाइ छ ।

नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिला आन्दोलनमा उठेका विषय ओझेलमा पर्न नहुने बताउनुभयो । उहाँले राजनीतिक दलले अहिले पनि महिलालाई चुनावको टिकट दिन आनाकानी गर्ने गरेको गुनासो गर्नुभयो ।   

अनेमसङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला आन्दोलनका लागि भावनात्मक एकताको पनि आवश्यकता पर्ने बताउनुभयो । महिला आन्दोलनका विषयमा भएका सात राजनीतिक दलको सङ्घर्ष समितिको बैठकलाई निरन्तर अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा एमाले नेता डा. बिन्दा पाण्डेको संयोजनमा तयार पारिएको ‘महिला आन्दोलनको प्रेरक व्यक्तित्व प्रथम महिला जनप्रतिनिधि साधना’ पुस्तक विमोचन गरिएको छ । अनेमसङ्घका अध्यक्ष टुकाभद्र हमालले पुराना राजनीतिज्ञ भवानी रिजाल भानु र गंगा डाँगीलाई सम्मानपत्रसहित सम्मान प्रदान गर्नुभयो ।    

कार्यक्रममा एमाले सांसद, पूर्वमन्त्री, महिला अधिकारकर्मी, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थिती रहेको थियो ।