बेइजिङ, भदौ १७ गते। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबिच द्विपक्षीय भेटवार्ता भएको छ।
बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेस्टहाउसमा आज भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटमा चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो। त्यसैगरी नेपाली पक्षले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकामा र उच्चस्तरीय भेटवार्ताका लागि चीन सरकारप्रति आभार व्यक्त गरेको थियो। प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससिओ) बैठक उपलब्धिमूलक भएको धारणा व्यक्त गर्नुभएको थियो।
भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहोर्याउँदै चीनकाविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो। आजै उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गर्नुभएको थियो।
थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आजै बेइजिङ जानुभएको हो।रासस