• १८ भदौ २०८२, बुधबार

सुडानको डार्फरमा भूस्खलन, १,००० भन्दा बढीको मृत्यु

blog

खार्तुम, भदौ १७ गते । सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठुलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।

सुडान लिबरेसन मुभमेन्ट/आर्मी (एसएलएम)ले आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै ‘प्रारम्भिक जानकारीले सबै गाउँबासीको मृत्यु भएको सङ्केत गर्दछ, केवल एक जना बाँचेका छन्’ भनेको छ । साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको भूस्खलनले गाउँ पूर्णरूपमा नष्ट भएको र संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता संस्थालाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।

सुडान सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बिचको गृहयुद्धले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा धकेलेको छ । एसएलएम प्रायः लडाइँबाट बाहिर रहन्छ तर डार्फरको केही पर्वत शृङ्खलामा यसको नियन्त्रण छ । डार्फरका सेना-गठबन्धन गभर्नर मिन्नी मिन्नावीले भूस्खलनलाई ‘क्षेत्रको सीमा नाघेको मानवीय त्रासदी’ भन्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय मानवीय संस्थालाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै भन्नुभयो, “यो त्रासदी हाम्रा जनताले एक्लै सहन सक्ने भन्दा ठुलो छ ।”

भोक सङ्कट

सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडान सेना प्रमुख अब्देल फताह अल-बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबिचको शक्ति सङ्घर्षले देशको पूर्वाधार ध्वस्त पारेको छ । यस युद्धमा दशौँ हजारको ज्यान गएको र करिब ४० लाख मानिस विस्थापित भएका छन् । डार्फरको भूस्खलन क्षेत्रमा चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय सहायता संस्थाको पहुँच कठिन बनाएको छ, जसले तत्काल मानवीय सहयोग वितरणमा गम्भीर चुनौती खडा गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार हाल सुडानभित्र करिब एक करोड मानिस विस्थापित छन् भने थप ४० लाख छिमेकी देशमा पलायन भएका छन् । रासस/एएफपी