काठमाडौँ, भदौ १७ गते । छहारी युवा क्लबले एन्फा महिला लिग छनोटमा सिन्धुपाल्चोक फुटबल क्लबमाथि कठिन जित निकालेको छ ।
च्यासल मैदानमा मङ्गलबार भएको खेलमा छहारीले सिन्धुपाल्चोकलाई १–० गोलले हरायो । छहारीको जितमा सीमा रावलले १३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
जितसँगै समूह ‘ए’ मा रहेको छहारीले तीन अङ्क थप्यो । सिन्धुपाल्चोकले हारको यात्रा जारी राख्यो । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।