काठमाडौँ, भदौ १७ गते । फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहनुभएका हुमागाईले नेपाली मूलका खेलाडीलाई लक्षित गरेर क्लब खोल्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ ।
लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका उहाँले टेक्सासमा रहेर विभिन्न क्लबमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
हुमागाईले सेप्टेम्बर १४ तारिख विशेष समारोहबिच क्लबको औपचारिक सुरुवात गर्ने पनि बताउनुभयो । ‘‘क्लब स्थापनापछि नेपाल र अमेरिकामा आयोजना हुने फुटबल प्रतियोगितामा भाग लिने योजना छ । भविष्यमा यही क्लबमार्फत नेपालका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगमा टिम खरिद गर्ने वा नयाँ टिम दर्ता गरी प्रतिस्पर्धा गर्ने दीर्घकालिन योजना छ । हामी सुरुमा इङ्लिस प्रिमियर लिगको वेस्टहाम युनाइटेडसँग किस्टोन एथलेटिक्स पेन्सलभेनियामार्फत आधिकारिक सम्बन्ध स्थापना गर्दैछौँ,’’ हुमागाईले भन्नुभयो ।
उहाँले त्यहाँ सात वर्ष प्रशिक्षकको रूपमा काम पनि गरिसक्नुभएको छ । हुमागाईले क्लबले आगामी वर्षदेखि अमेरिकाको सबै उमेर समूहको लिगहरू खेल्ने पनि बताउनुभयो । हाल हुमागाईले प्रशिक्षण दिएको क्लबका चार वर्षदेखि ३५ वर्षसम्मका खेलाडी रहेका छन् । उहाँकोअनुसार विस्तारै क्लबलाई समुदायमा हस्तान्तरण गरिने छ ।
प्रशिक्षक हुमागाईले अर्जेन्टिनाबाट प्रोलाइसेन्स प्राप्त गर्नुभएको छ । नेपालमा थ्रीस्टार क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसक्नुभएको उहाँले नेपाल सुपर लिग फ्रेन्चाइज टोली ललितपुरको समेत प्रशिक्षण सम्हाल्नुभएको थियो ।