सिराज खान
नेपालगन्ज, भदौ १७ गते। बाँकेका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात वटा स्थानीय तहमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको जानकारी दिनुभयो। सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र सो बढ्ने क्रममा रहेको उहाँको भनाइ छ।
‘लम्पी स्किन’ को सङ्क्रमण देखिएका पशु चौपायाको प्रारम्भिक उपचारसँगै २५ हजार खोप माग गरिएको छ। बुधवारसम्ममा खोप आइपुग्ने र त्यसपछि लगाउने प्रक्रिया सुरु हुने सूचना अधिकारी रावलले बताउनुभयो।
राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किन विज्ञ केन्द्रले जनाएको छ।
जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा ‘लम्पी स्किन’ को औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर पनि लगाउने गरिएको बताउनुभयो।
राप्तीसोनारीका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीले गाउँपालिकाको वडा नम्बर १, २ र ६ लगायतका वडामा सङ्क्रमण बढी देखिएकाले ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रलाई पत्राचार गरिएको बताउनुभएको छ।
बुधबारसम्म बाँकेमा खोप पुग्ने र त्यस लगत्तै स्थानीय तहलाई संक्रमणका आधारमा खोप वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ।