सुधा देव
भारदह (सप्तरी), भदौ १७ गते । सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस गर्ने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्लामा मिर्गौलामा समस्या हुनेको सङ्ख्यामा वृद्धि भएपछि डायलासिस गर्ने बिरामीको सङ्ख्या वृद्धि भएको हो ।
अस्पतालमा हाल ४७ जना बिरामीले डायलासिस सेवा लिइरहेका छन् । जसमध्ये ३९ पुरूष र ८ जना महिला रहेका छन् । वैदेशिक रोजगारीबाट फर्केका १७ जना रहेको डायलासिस वार्डको इन्चार्ज मनोज देवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डायलासिस गराउन आउने बिरामीमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्षसम्मका रहेका छन् ।”
पछिल्लो समय डायलासिस गर्ने बिरामीको सङ्ख्या बढेपछि बिहान, दिउँसो र बेलुकी गरी ३ सिफ्टमा अस्पतालमा डायलासिस हुँदैआएको उहाँले जानकारी दिनुभयो । दिनहुँ १५ देखि १७ जना बिरामीको डायलासिस हुँदैआएको छ । प्रक्रिया पूरागरी स्थानीय तह र जिल्ला प्रशासनको सिफारिसमा आएकाको निःशुल्क डायलासिस हुँदैआएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “इमर्जेन्सी डायलासिस गर्नुपर्छ । नेपाल सरकारले तोकिएको मापदण्डअनुसार प्रक्रिया पुर्याएर नआएका बिरामीहरूसँग अस्पतालले ४ हजार शुल्क लिएर डायलासिस गर्दैआएको छ ।
वैदेशिक रोजगारमा गएकाहरूले दिनहुँ ब्वाइलर कुखुराको मासु खाने पानीको सट्टा अत्यधिक कोल्ड ड्रिङ्क्स पिउनाले मिर्गौला फेल हुने समस्या देखिएकाले वैदेशिक रोजगारीमा गएकाहरूलाई सचेत रहन आग्रह गर्नुभयो ।
विदेश गएकाहरूले खानपिनमा ख्याल नगर्दा मिर्गौलाको समस्या हुने बिरामी बढ्दै गएको उहाँले बताउनुभयो । विदेश गएकाहरूसँगै सबैले खानपिन र रहन सहनमा एकदमै सतर्कता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । यस अस्पतालमा दुई हप्ताभित्र तीन बेडको सेरोलोजी पोजेटिभ बिरामीहरूका लागि डायलासिस सेवा सञ्चालनमा आउनभएको छ ।