परीक्षा सकिएको भोलिपल्ट नै क्याम्पिङका लागि बेथानचोक निस्कियौँ– हामी आठ साथी । २०८२ साउन ३० गते काभ्रे जिल्लाको बेथानचोक नारायणस्थानतिर जानका लागि वीर अस्पताल अगाडिबाट पनौती जाने बस पक्रियौँ । बिहानको समय काठमाडौँका सडक विस्तारै व्यस्त हुँदै थिए । सडक त्यति व्यस्त पनि थिएन । ठाउँ ठाउँमा यात्रु चढाउँदै ओराल्दै जाने बस भएकाले केही ढिला त हुने भयो नै । यात्रामा राजनीतिदेखि पढाइसम्मका गफमा भुल्दै गर्दा पनौती पुगेको थाहै भएन । पनौतीमा झरेलगत्तै ढुङ्खर्कको बस पक्रियौँ । बसमा स्थानीय बासिन्दा टनाटन थिए । छेउमै हुनुहुन्थ्यो– पनौतीमा कृषि उत्पादन बेचेर फर्किएकी ढुङ्खर्ककी आमा । खेती गर्दाका दुःखबारे आमाको गुनासो सुनियो ।
पनौतीदेखि ढुङ्खर्कको सडक त्यति गतिलो चाहिँ थिएन । सडक जस्तो भए पनि यात्रामा देखिएका गाउँघर, पहाडी थुम्काका दृश्य अत्यन्तै मनमोहक थिए । माटोले बनेको घर, कतै कतै पक्की घर । धेरै जसो घरमा ताला लागेको अवस्था । पहाडी सडक, सानो र भिरालो बाटोमा चालकले निकै होसियारीसाथ बस चलाइरहनुभएको थियो । करिब १ घण्टा १० मिनेट लगाएर ११ बजे हामी ढुङ्खर्क पुग्यौँ । सानो बस्ती, छेउमा बगिरहेको पाटने नाम गरेको खोला, ठाउँ ठाउँमा होटेल र लज, सानो भए पनि रमाइलो थियो– ढुङ्खर्क बजार । चिसो मौसम, त्यहाँबाट देखिने डाँडा बादलको घुम्टो ओढेका थिए । मौसम चिसिँदै थियो, पानी झरी पर्ने सक्ने जनाउ घन्टी बज्दै थियो । जसले हाम्रो मनमा उत्सुकता र डर एकैसाथ दिइरहेको थियो । अब यात्रा उकालो छ । त्यो पनि पैदल । होटेलमा खाना अर्डर गरी बोक्ने सामान भाग लगायौँ ।
माथि पानी नपाइने भएकाले प्रत्येक एक जनाले साथमा चार लिटर पानी बोक्ने सल्लाह भयो । सबैको सामान प्याकिङ भएपछि खाना पनि पाक्यो । खाना खाएपछि अब उकालो चढ्न तयार भयौँ । हामी सबैको यो पहिलो क्याम्पिङ थियो । साथीहरू यति लामो दुरी भएको यात्रा त्यही पनि उकालो कहिल्यै हिँडेका रहेनछन् ।
ढुङ्खर्क बजारछेउ हुँदै बग्ने पाटनेखोलाको पुल तरेर यात्रा तय ग¥यौँ । सडक छेउछाउ काउली, बन्दाको खेती, कृषियोग्य जमिन, विस्तारै बादलको घुम्टो ओढ्दै गरेको ढुङ्खर्क बजारलाई भोलि फेरि भेट्ने छौँ भन्ने आशासहित गोरेटो बाटो उकालो चढ्यौँ । भूकम्पले क्षतिग्रस्त घर । कतै खरपरालले छाएको घर । पहिरोले ताछेका डाँडा । पहिरोको उच्च जोखिममा पारेको देखिन्थे ती गाउँबस्ती । उकालो चढ्दै गर्दा भेटिएका स्थानीयलाई अब कति समय लाग्छ बेथानचोक पुग्न भनेर सोध्दा मान्छे अनुसारका जवाफ आउँथ्यो । कोहीले अब ३ घण्टा जति लाग्छ भन्थे, कोहीले अझै ४ घण्टा लाग्छ भन्थे । ‘हिँडाइमा फरक पर्छ’ भनी साथीलाई सम्झाएँ । म आफैँको पनि पहिलो यात्रा थियो– बेथानचोक ।
यात्राको केही समयपछि बेथानचोक–३, खोरथापे हाइट पुग्यौँ । जहाँ केही रिसोर्ट थिए । अब यसपछि माथि कुनै पनि गाउँ नभेटिने स्थानीयले बताए । हिँड्न नसक्ने र बिहान गएर भ्यु हेर्छु भन्नेका लागि त्यहाँ रिसोर्ट थिए । केही समयको विश्राम लिएर उकालो यात्रालाई निरन्तरता दियौँ । विस्तारै चिसो बढ्न थालेको थियो । पानीका छिटा शरीरमा बजारिँदै थिए । हामी अझै उत्सुकतासाथ अघि बढ्यौँ । अलि माथि थुम्की भन्ने ठाउँ पुग्यौँ, जहाँ एउटा रिसोर्ट थियो । त्यसैको अगाडि केही समय बसेर फेरि यात्रालाई अगाडि बढायौँ । काठमाडौँको बसाइ, कलेज पढ्दा, कक्षाकोठाभित्रको होहल्ला, परीक्षाको पिर यी सबै कुरालाई भुलेर हामी प्रकृतिको मिठो भुलभुलैयामा आफूलाई भुलाउन प्रयास गरिरहेका थियौँ ।
सुनसान जङ्गल, चराको चिरबिर चिरबिर आवाज, हावाको झोक्काले जिस्काइरहेको थियो । पहिरो गएका बाटो उछिन्दै हामी अघि बढ्दै थियौँ । करिब २ घण्टापछि हामी पानी भएको ठाउँमा पुग्यौँ । माथि पानी नपाउने भएकाले हामीले सबै खानेकुरा त्यहीँ धोइपखाली गरेर निस्कियौँ । हिँड्दाहिँड्दै पानी पर्न थाल्यो । सबैले रेनकोट ओढेर उकालो चढ्यौँ । पानी परेपछि जुका आउने रहेछ । जुका नदेखेका केही साथी जुकाले रगत चुसेको देखेर डराए । उकालो चढ्दाचढ्दै देउराली भन्ने ठाउँमा पुग्यौँ । मोटरबाटो पुग्ने अन्तिम ठाउँ रहेछ यो । देउरालीमा बसेर खाजा खाँदै गर्दा प्रेमध्वज प्रधानको ‘देउरालीमा बतास चल्यो’ भन्ने गीतको सम्झना आयो । २,७१९ मिटरको उचाइमा पुगेपछि मोटरबाटोको अन्त्य हुँदो रहेछ । आफ्नै सवारी लिएर जानेले यहीँ बिसाएर उकालो चढ्नुपर्ने रहेछ । समयले डाँडा काट्दै थियो । जति सक्दो चाँडो डाँडा पुग्नु थियो । विस्तारै डाँडा देखिन थाले । बाटोमा ढुङ्गा बिछ्याइएको थियो । हिँड्न निकै सहज हुने बाटो बनाइएको रहेछ । बाटोमा फूल लटरम्म फुलेका थिए । फोटो नखिची हिँड्न सकिएन ।
करिब एक घण्टापछि डाँडा उक्लियौँ । बादलले ढाकिएको, फूलले स्वागत गरे जस्तै हामी आएको देखेर खुसीले चराचुरुङ्गीले चिरबिर चिरबिर गरे जस्तै महसुस भइरहेको थियो ।
ढुङ्खर्कदेखि करिब छ घण्टाको हिँडाइपछि ३,०१८ फिटको उचाइमा रहेको बेथानचोक नारायणस्थान मन्दिर पुग्यौँ । अर्थात् हाम्रो अन्तिम गन्तव्य । शान्त वातावरण, फूलले सजिएको, घेरिएको अत्यन्तै सुन्दर र ऐतिहासिक धार्मिक स्थल देखिन्थ्यो । यो स्थान हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्र रहेछ । बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनैपूर्णिमा, फागुपूर्णिमामा विशेष मेला लाग्ने रहेछ ।
यो क्षेत्रमा आएर टेन्टमा बस्ने बेलुकी र बिहानको दृश्य हेर्ने कार्यमा बेथानचोक सामुदायिक होमस्टेले सहजीकरण गरिरहेको स्थानीयबाट जानकारी पाइयो । होमस्टेमा बसेबापत प्रतिव्यक्ति एक हजार रुपियाँ लाग्ने रहेछ जसभित्र दुई सेट भेज खाना र दुई सेट खाजा पर्दोरहेछ । बाइकमा आउने आन्तरिक पर्यटकलाई गुगल म्याप दिइने रहेछ । सार्वजनिक बस चढेर आउने पर्यटक ढुङ्खर्क बजार पुगेर बस्न सक्ने रहेछन् । एकछिनको विश्रामपछि बास बस्नका लागि क्याम्पिङ टेन्ट राख्नतिर लाग्यौँ । लेकमा अँध्यारो खस्दै थियो । हतार हतार सबै व्यवस्था मिलायौँ । पानी परेको भएर आगो बाल्न निकै बल परेको थियो । जसोतसो आगो बालेर खाना बनाएर खायौँ । दिनभरिको थकान मेट्न एकछिन गीत गाएर नाच्न थाल्यौँ ।
भोलि बिहानको मौसम कस्तो होला भन्ने शङ्का थियो । जुन र ताराले आकाश ढकमक्क भएको देखेपछि बिहान मौसम खुल्ने आशासहित करिब १२ बजेतिर सुत्न टेन्ट छि¥यौँ ।
चराचुरुङ्गीले बिहान भएको सङ्केत दिए । टेन्टको ढोका खोलेर हेर्दा पहाडलाई घुम्टो हालेर बसेको बादल देख्दा निकै मक्ख प¥यौँ । यहाँ बिहानीको सूर्योदय तथा सूर्यास्त हेर्न पर्यटक जाने
गरेका रहेछन । बिहानी सौन्दर्यलाई आँखाले कैद गरौँ कि मोबाइल क्यामराले ? दृश्यलाई मनभरि बटुल्ने प्रयास ग¥यौँ ।
फूललाई गिज्याउँदै, पहाडमाथि कपास जस्तै तैरिरहेका बादलसँग लुकामारी खेल्दै युवा उमेरका उतारचढावलाई शान्त पार्न, छुटेका साथलाई मस्तिष्कको हाडड्राइभबाट फाल्न चाहिँ यो ठाउँको बिहानी दृश्य हेर्नुपर्ने रहेछ । स्थानीयका अनुसार बेथानचोक नारायणस्थान क्षेत्रमा छ प्रकारका लालीगुराँस, लोपोन्मुख प्रजातिका जनावर, चराचुरुङ्गी तथा लौठसल्ला, ठिङ्ग्रेसल्ला, सुगन्धवाल, चिराइतो, कुरिलो, जेठीमधु जस्ता जडीबुटी पाइने रहेछ ।
स्थानीय सरकारले पर्यटन विकासका लागि गरेको पहल स्वागतयोग्य नै लाग्यो । तथापि धार्मिक स्थलमा रहेका पाटीपौवा अत्यन्तै फोहोर र दुर्गन्धित थिए । डाँडामा टेन्ट लाएर बस्ने पर्यटकले छोडेर गएका फोहोरले धार्मिक क्षेत्र र प्राकृतिक सम्पदामाथि ठेस लगाएको पाइयो । सौन्दर्यको मोहनीमा परेर दुई घण्टा बितेको पत्तै भएन । टेन्टका सामान प्याकिङ गरेर ८ बजे लाग्यौँ ओरालो । फर्किंदा बाटो भुलेर हिँड्न निषेध गरिएको बाटो लागिएछ । जताततै पहिरो गएको रहेछ, बल्लतल्ल पहिरोबाट निस्कियाैँ । एकपछि अर्को पहिरो छिचोल्दै १२ वटा पहिरो छिचोलिसके छौँ । बल्लतल्ल मोटरबाटोमा निस्कियौँ । ज्यान जोगियो आज भनेर साथीहरू खुसी भए ।
ओरालो भएर होला करिब २ बजे हामी ढुङ्खर्क झ¥यौँ । त्यहाँ एकछिन विश्राम लिएर पनौतीसम्मको बस चढ्यौँ । पनौती बजारमा ४ बजे पुगेर खाजा खाएपछि काठमाडौँ सम्मको बस चढ्यौँ ।
यात्रा खर्च
काठमाडौँ (वीर अस्पतालअगाडि)– पनौती भाडा : ९० रुपियाँ । पनौती–ढुङ्खर्कको बस भाडा : १०५ रुपियाँ । आवास : बेथानचोक नारायणस्थान मन्दिरभन्दा केही तल बस्नका लागि होटेल, रिसोर्ट छन् । शुल्क र सुविधा ठिकै छ । बिहानी सूर्योदय हेर्नका लागि होटेल, रिसोर्टबाटै क्याम्पिङको प्याकेज सुविधा लिन सकिन्छ ।