पुरुषोत्तम सुवेदी
परासी, भदौ १४ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा तीन वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । करिब तीन करोड रुपियाँको लागतमा सहरी विकास मन्त्रालयको सहरी तथा भवन कार्यालय चितवनले निर्माण गरेको यो बसपार्क रामग्राम नगरपालिका–४ मा अवस्थित छ । भौतिक पूर्वाधार तयार भएर पनि सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, यातायात व्यवसायी र यात्रु समस्यामा परेका छन् ।
बसपार्क सञ्चालनमा नआउनुको मुख्य कारण यससम्म पुग्ने सडक साँघुरो हुनु हो । यातायात व्यवसायीका अनुसार बस सहजै आवतजावत गर्न नसक्ने भएकाले उनीहरूले नयाँ बसपार्क प्रयोग गरेका छैनन् ।
मध्य नेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषिराम पौडेलले निर्माण भएको बसपार्क बजारबाट टाढा भएको र जान पनि सहज बाटो नभएका कारण समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक साँघुरो भएपछि बस कसरी बसपार्कमा जान सक्छन् ?” बसपार्क निर्माण भएपछि २०७९ साल असारमा समीर कन्स्ट्रक्सन कम्पनीले सहरी तथा भवन कार्यालयलाई हस्तान्तरण गरेको थियो । त्यसपछि कार्यालयले नगरपालिकालाई हस्तान्तरण गर्न खोजे पनि प्रक्रिया अघि बढ्न सकेन ।
नगरपालिकाका अनुसार बसपार्क सञ्चालनका लागि पहुँचमार्ग अझै अपुग छन् । नगरप्रमुख धनपत यादवले बसपार्क जाने पहुँचमार्ग निर्माण गरेपछि मात्रै बसपार्क हस्तान्तरण लिने बताउनुभयो । सहरी तथा भवन कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाले विस्तृत परियोजना प्रतिवेदनमा बसपार्कसम्म पुग्ने पहुँचमार्गका लागि बजेट समावेश नभएकाले बसपार्क मात्रै निर्माण गरिएको बताउनुभयो । उहाँले बसपार्क सञ्चालन गर्न स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्यामसिंह सैथवारले जनताको करबाट बनेको पूर्वाधार एकअर्कालाई दोषारोपण गर्दै प्रयोगविहीन राख्नु दुःखद भएको बताउनुभयो । उहाँले सम्बन्धित सबै निकाय मिलेर तत्काल बसपार्क सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बसपार्क सञ्चालनमा नआउँदा जिल्ला सदरमुकाम परासीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । अहिले पनि सडक किनारमै बस र अन्य यातायातका साधन रोकिने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । यसले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठुलो समस्या उत्पन्न गरेको छ ।
करिब ६० वटा सवारीसाधन अट्ने क्षमताको यस बसपार्कमा बस राख्ने स्थान, कार्यालय भवन, शौचालय, कम्पाउन्ड, प्रवेशद्वार र सुरक्षा गार्ड कक्षलगायतका सबै पूर्वाधार तयार भइसकेका छन् तर पनि सञ्चालनमा आउन नसक्दा यो करोडौँको लगानी खेर जाने अवस्था छ ।
अहिले परासीबाट महेशपुर, भैरहवा, त्रिवेणी, काठमाडौँ र बुटवललगायतका विभिन्न रुटमा छुट्ने सवारीसाधन महेशपुर जाने सडकको चोक चोकमै जम्मा हुने गरेका छन् । यदि बसपार्क सञ्चालनमा आएको भए, यी सबै सवारीसाधन एकै ठाउँबाट छुट्ने र बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार आउने थियो । साथै यसले रामग्राम नगरपालिका–४ मा केरवानी क्षेत्रमा बजार विकासमा सहयोग पुग्ने थियो ।