• १४ भदौ २०८२, शनिबार

वनविनाश रोक्दै महिला

blog

पाँच महिनाअघि चैत १४ गते बिहान ९ बजे मुगुको सदरमुकाम गमगढीका महिलाहरू अरू दिन झैँ आफ्ना चौपायालाई स्याउला लिन गमगढी पारिपट्टिको भदाली गयलदेव सामुदायिक वनतिर लागे । समयमै घर फर्कने सल्लाहले हिँडेका छायानाथ रारा नगरपालिका–१ बस्ने ५३ वर्षीय असला मल्ल र ५७ वर्षीय धनपुरा नेपालीसहितका छ जना महिला स्याउला सङ्कलनमा व्यस्त भए तर स्याउला सङ्कलन गर्दै गरेका बेला साढे १० बजेतिर एक्कासि आगोका लप्का देखेपछि भने उहाँहरूको सातोपुत्लो उड्यो । वनमा भएका साना पोथ्रा तथा घाँस स्याउला खरानी बनाउँदै आफूतिर आगोका लप्का बढेको देख्दा महिलाहरू आफूहरू आज पक्कै मरिने भइयो भन्दै आत्तिनुभयो तर उहाँहरूले होस गुमाउनुभएन । हतार हतारमा हरियो स्याउला काटेर एकसुरमा निभाउन थालेपछि र निकैबेरको प्रयासपछि उहाँहरू डढेलो निभाउन सफल हुनुभयो । 

“आगो निभाइसकेपछि धन्न आज हामी बाँच्यौँ भन्ने भयो” मल्लले आफ्नो अनुभव सुनाउनुभयो, “थोरै भए पनि वन जोगायौँ भन्ने पनि भयो ।” वनमा आगो लाग्दा पुरुषहरू खासै चासो देखाउँदैनन् किनभने घाँस दाउराको जोहो गर्ने जिम्मा महिलाको काँधमा भएको उहाँहरूको भनाइ छ । बस्तीनजिकको वनमा आगो लाग्नेबित्तिकै सबैभन्दा बढी पिर हामी महिलाहरूलाई लाग्ने गर्छ, उहाँहरू भन्नुहुन्छ । पुरुषहरू कोही जागिरे, कोही व्यापारी त कोही हिउँदको समयमा भारततिर रोजीरोटीका लागि कामको खोजीमा जाने भएकाले गाउँमा प्रायः महिला तथा ज्येष्ठ नागरिक र बालबालिका मात्र हुने भएकाले पनि वनमा आगो लाग्नेबित्तिकै निभाउने जिम्मा महिलाको काँधमा आई पर्छ । घरमा भएका पशु चौपायालाई घाँस र स्याउला र खाना पकाउन दाउरा वनबाटै ल्याएर गुजारा चलाउनुपर्ने भएकाले पनि डढेलोबाट वन जोगाउन ज्यान जोखिममा पारेर आगो निभाउन लागि पर्छन् मुगुका महिला । 

बर्सेनि आगो लगाउने क्रम घट्नुको साटो बढ्दै जान थालेकाले काठ, दाउरा र घाँसपातको जोहो गर्न यहाँका गृहिणी महिलालाई दिन प्रतिदिन सकस थपिँदै गएको सोही पालिकाको वडा नं ११ रोवा गाउँका ५४ वर्षीय रामकृष्ण बुढा बताउनुहुन्छ । गोठालाहरूले नयाँ घाँस पलाउने आशामा लुकीछिपी आगो लगाउने भएकाले त्यस्ता मान्छेको खोज तलास गरेर कडा सजाय दिने हो भने आगो लगाउने क्रम घट्न सक्ने उहाँ बताउनुहुन्छ । 

विशेष गरेर यहाँका भिरालो वनहरूमा आगो लाग्दा एकातिर निभाउनै कठिन र अर्कोतिर आगो निभाउने सुरक्षित साधन नहुँदा पनि आगो नियन्त्रण गर्न कठिन हुने गरेको भदाली गयलदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकजङ्ग मल्लको भनाइ छ । ‘कतै नयाँ घाँस उम्रिन्छ भन्ने उद्देश्यले गोठालाहरूले लुकीछिपी आगो लगाउँछन् भने कतै छिमेकी बस्तीका मानिसले घाँस दाउरा गर्न नदिएको झोँकमा समेत लुकेर आगो लगाउने गरेकाले यहाँका वनहरू डढेलोको उच्च जोखिममा रहेको छ,’ उहाँ भन्नुहुन्छ । 

आगो विभिन्न तरिकाले लाग्ने गर्छ, विद्युत्का तारहरू एकआपसमा जुध्दा अथवा सटसर्किट हुँदा र चट्याङ पर्दासमेत वनमा आगो लाग्ने गर्छ भने बाटामा हिँड्नेले ननिभाई चुरोटका ठुटा फाल्नाले पनि आगो टिप्ने गरेको डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजन अधिकृत ललित कुमार कर्ण बताउनुहुन्छ । पिकनिक अर्थात् क्याम्पफायर गर्नेले आगो पूर्ण रूपमा ननिभाई हिँड्ने गर्दा र मानिसले जानीजानी नयाँ घाँस पलाउँछ भन्ने आशयले समेत आगो लगाउने गरेकाले बर्सेनि डढेलोले वन मासिँदै गएको उहाँ बताउनुहुन्छ । आगो लगाउनेको खोजी गरेर कानुनी प्रक्रियामा ल्याउन एकातिर समुदायका मानिसहरूले थाहा पाएर पनि नाम नभनिदिने र यहाँका वनहरू सम्बन्धित बस्तीका समुदायलाई नै हस्तान्तरण गरिएकाले वन कार्यालयले कानुनी प्रक्रिया अगाडि बढाउनसमेत असहज हुने गरेकाले हरेक वर्ष यहाँका सयौँ हेक्टर वन आगलागीको चपेटामा पर्दै गएको डिभिजन वन अधिकृत कर्णको तर्क छ ।

राराताल वरिपरि जोखिम

मुगुको गमगढी नजिकका सामुदायिक वन मात्र होइन, यस भेगकै मुख्य आकर्षणको रूपमा रहेको रारा ताल वरिपरिका वनजङ्गल पनि डढेलोको जोखिमबाट अछुतो छैन । करिब १० हजार छ सय हेक्टर क्षेत्र ओगटेको रारा राष्ट्रिय निकुञ्जमा समेत २०८१ फागुन १३ र १४ गते छायानाथ रारा नगरपालिकाको कैलाश बजेणी वन उपभोक्ता समितिको पिप्ल्याडी वनमा आगो लाग्दा नेपाली सेना, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिको सक्रियतामा आगो निभाउँदा निभाउँदै पनि करिब ९० हेक्टर वन जलेर नष्ट भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर धर्म सावन्त बताउनुहुन्छ । २०७७ फागुन १८ र १९ गते पनि पिनागाउँ नजिकै रहेको ऋणमोक्ष मध्यवर्ती सामुदायिक वनमा आगो फैलिँदा स्थानीयवासीको प्रयासका बाबजुद करिब दुई सय हेक्टर वन जलेर नष्ट भएको निकुञ्जका तत्कालीन निमित्त संरक्षण अधिकृत यज्ञबहादुर रोकाया सम्झनुहुन्छ ।

सुन्दर रारातालको छेउछाउमा सुक्खा मौसमका बेला आगो लाग्ने गरेकाले यहाँ भएका विभिन्न रुख बिरुवा र वन्यजन्तुसमेत आगलागीबाट प्रभावित हुने गरेका छन् । ताल छेउछाउको जङ्गलमा कहिलेकाँही डढेलो लाग्दा राराको प्राकृतिक सुन्दरतामा ह्रास आउनुको साथै यहाँको जैविक विविधतासमेत नष्ट हुने गरेको छ । नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगुस्थित राराताल आसपासमा कहिलेकाहीँ आगलागीको उच्च जोखिम भएकाले आर्थिक वर्ष २०८१/८२ मा निकुञ्ज क्षेत्रभरिका कर्मचारी, हनुमानध्वज गुल्मका नेपाली सेना, मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिका अध्यक्षहरू, डुङ्गा सवारका बोटेसमेतलाई निकुञ्ज क्षेत्रलाई डढेलोबाट कसरी बचाउने र डढेलो लागिहाले पनि यथाशक्य कसरी नियन्त्रण गर्ने भनेर तीनदिने तालिम सञ्चालन गरिएको थियो । निकुञ्जका सिमा क्षेत्रमा डढेलोलगायतका वन विनाशसम्बन्धी जनचेतना जगाउने हेतुले सोरु गाँउपालिका–८ र छायानाथ रारा नगरपालिकाका मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिलाई समेत एक दिने गोष्ठी सञ्चालन गरिएको थियो । आव २०८०/८१ मा पनि डढेलो नियन्त्रणका लागि केही सामग्रीसमेत खरिद गरिएको थियो । 

जोखिममा मुगुका वन

डिभिजन वन कार्यालय मुगुकी अधिकृत बसन्ती बुढाका अनुसार तीन गाउँपालिका र एक नगरपालिका रहेको मुगुमा २० हजार ९७७ हेक्टर वन सरकारी र कबुलियती व्यवस्थित वनले ओगटेको छ भने १०१ वटा सामुदायिक वनले सात हजार ४२२ र नौ वटा निजी वनले ४१६ हेक्टर ओगटेको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार तीन लाख ५३ हजार ५०० हेक्टर कुल क्षेत्रफलमध्ये तीन हजार ७७८ हेक्टर वन डढेलोको उच्च जोखिममा रहेको देखिन्छ । आव २०७७/७८ देखि २०८०/८१ सम्म चार आवको वन डढेलोको क्रम घट्दो नभई बढ्दै गएको देखिन्छ ।

यस्तै क्रममा बर्सेनि डढेलोले वनविनाश हुँदै जाने हो भने मुगुमा पाइने विभिन्न जीव तथा वनस्पतिको अस्तित्व नै सङ्कटमा पर्ने देखिन्छ । पछिल्लो समय डढेलो, खडेरी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण र विश्वभरि बढ्दो जलवायु परिवर्तनले वातावरणमा ल्याएको फेरबदलका कारण जीव तथा वनस्पतिमा प्रत्यक्ष असर पर्न थालेको छ । आगलागीले वनविनाश हुँदा एकातिर चौपायालाई चरनको अभाव हुनुका साथै मानिसका लागि घाँस दाउरा र स्याउलालगायत विभिन्न वन पैदावारको अभाव बढ्दै जान थालेको छ । डढेलोले चरन क्षेत्र नष्ट गर्नुका साथै वन जङ्गलमा आश्रित वन्यजन्तु र चराचुरुङ्गीको वासस्थानसमेत नष्ट गरिदिने भएकाले बिस्तारै यी लोप हुँदै जाने अवस्था आउन थालेको पाइन्छ । कतिपय जीव आगो लागिरहेका बेलामा उम्कन नसकी जलेर मर्ने गरेकाले कतिपय प्रजाति लोप नै हुने क्रममा रहेका छन् । 

मुगु जिल्लाको सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाका वन तथा ग्रामीण बस्तीहरूमा हुन सक्ने आगलागी जस्ता दुःखद घटनालाई न्यूनीकरण गर्न नगर प्रहरीलाई आवश्यक तालिम दिएर ठाउँ र भूगोल अनुसार आगो निभाउन लगाउने गरिएको छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम बताउनुहुन्छ । स्थानीय सामग्रीको प्रयोग गरेर आगो लागेको सूचना पाउना साथ त्यसतर्फ जतिसक्दो छिटो आकस्मिक टोली पठाउने व्यवस्था गर्नुका साथै आगलागीबाट घरबास गुमाएका नागरिकलाई तत्काल गाँस बासका लागि खाद्यान्न, एकसरो भाँडावर्तन र लुगाकपडा उपलब्ध गर्न आपत्कालीन कोषसमेत खडा गरेको उहाँ बताउनुहुन्छ । आव २०८०/८१ मा अग्नि नियन्त्रणसम्बन्धी स्थानीय सामग्रीसमेत खरिद गरेर डढेलोको जोखिमयुक्त बस्तीमा पठाइएको थियो ।

देशैभर चुनौती

पछिल्लो समयमा दिन प्रतिदिन लामो खडेरी पर्न थालेपछि हरेक वर्षको माघदेखि वैशाखसम्म नेपालका विभिन्न वनमा लाग्ने गरेको डढेलोको कारण दिनप्रतिदिन बिगिँरदै गएको वायुप्रदूषणको स्तरले मानव जीवनमा नै सङ्कट निम्तिँदै जान थालेको छ । त्यसमाथि लामो खडेरी परेको समयमा वनमा घाँसपात र रुखका पातसमेत सुकेको अवस्थामा लागेको डढेलोले साना बुट्यान मात्र होइनन् ठुला रुखसमेत जलेर नष्ट हुने गर्छन् । एक पटक मात्र वनमा लागेको आगोबाट जलेका कुनै रुखहरू फेरी पलाउनै नपाएर सुक्ने गर्छन् । आगोको रापले जमिनको माटो तलैसम्म डढेको ठाउँमा एकखाले सेतो ढुसी जस्तै देखिएको ठाउँमा बर्षौंसम्म कुनै पनि बोटबिरुवा उम्रिँदैनन् । मुगु मात्र नभई देशका विभिन्न जिल्लाका थुप्रै बस्तीमा आगलागीका घटना दिनप्रतिदिन बढ्दै जान थालेपछि सर्वत्र चिन्ता छाएको छ । आगो लगाउनेको खोजी गरेर कानुनको दायरामा ल्याउने कडा खाले कानुन नहुँदा पनि बर्सेनि यहाँका वन डढेलोको चपेटामा पर्ने गरेका छन् । 

वनमा आगो लागेपछि एकातिर निभाउने उपयुक्त साधन नहुने र स्थानीयवासी सबैको आगो निभाउने चासोसमेत नगर्दा सानो आगोको झिल्कोबाट वन सम्पदा बर्सेनि नष्ट हुँदै गइरहेको छ । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालको कुल क्षेत्रफलमध्ये ४४.७४ प्रतिशत (६४ लाख हेक्टर) भूभाग वन क्षेत्रले ओगटेको छ । हाल नेपालमा विभिन्न राष्ट्रिय निकुञ्ज, वन संरक्षण क्षेत्र, सामुदायिक तथा निजी वन सञ्चालनमा रहेको पाइन्छ । सङ्घीय सरकार लागु भएपछि नेपालभर ८४ डिभिजन वन कार्यालय, ७४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय सञ्चालनमा रहेका छन् । वनसँग सम्बन्धित अन्य कानुन निकै प्रभावकारी भए पनि डढेलो लगाउनेको पत्ता लगाएर कडा कारबाहीको व्यवस्था नहुँदा पनि चुनौती थपिएको छ । वातावरण संरक्षणमा चासो राख्ने छायानाथ रारा नगरपालिका घट्टलेखका स्थानीय बुद्धिजीवी कृष्णबहादुर सेजुवाल भन्नुहुन्छ, “बर्सेनि वन आगलागीको चपेटामा परेर आफू सानो छँदा ठुलठुला रुख र घना जङ्गल भएका अधिकांश वनमा ठुला रुखहरू देख्नु त कता हो कता बाक्लो जङ्गलसमेत पातलिँदै जान थालेको छ ।”