• १३ भदौ २०८२, शुक्रबार

बागलुङको नाम्दुकमा जिप दुर्घटना, सातजना घाइते

blog

रामकृष्ण बोहरा

बागलुङ, भदौ १२ गते । सदरमुकाम बागलुङ बजारदेखि दक्षिण भेगको बरेङ गाउँपालिका जाँदै गरेको जिप बिहिबार साँझ ७ बजे जैमिनी नगरपालिका वडा नं. १० राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

दुर्घटनामा परी जिप चालक बरेङ गाउँपालिका वडा नं. १ का २० वर्षीय रवि थापा, सोही ठाउँका २१ वर्षीय सुस्मिता परियार, १९ वर्षीय विक्की परियार, ४० वर्षीय सेती परियार, ४० वर्षीय सुनिता परियार, १८ वर्षीय मोहन परियार र भरतपुर महानगरपालिका वडा नं. २६ का ५४ वर्षीय ज्योति मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्तजंग पाण्डेले जानकारी दिनुभयो । शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले बताउनुभयो । 

ग १ ज ७४८० नम्बरको जिप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको प्रनानि पाण्डेले बताउनुभयो । घाइतेहरुको उद्धार गरी उपचारको लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बरेंङका प्रहरी निरीक्षक चन्द्रप्रसाद भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयबासीले घाइतेहरुको उद्वार गरेका थिए ।