सुजन बज्राचार्य
सङ्खुवासभा, भदौ १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभामा पाँच हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको उल्लेख गर्दै विकासका मुद्दामा दलीय सहमति आवश्यक भएको बताउनुभएको छ।
मादी नगरपालिका स्थित मादी माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले जिल्लाले शिक्षा र ऊर्जा दुवै क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएको उल्लेख गर्नुभयो। “संखुवासभा केवल जलविद्युत् मात्र होइन, पर्यटन, योगमाया आयुर्वेद विश्वविद्यालय, सीमा नाका र पूर्वाधार विकासको पनि केन्द्र बन्न सक्ने सम्भावना बोकेको जिल्ला हो। यस्तो क्षमतामय क्षेत्रको विकासलाई दलगत राजनीतिभन्दा माथि राख्नैपर्छ,” मन्त्री खड्काले भन्नुभयो।
उहाँले चीन र भारतलाई जोड्ने प्रमुख प्रवेशद्वार किमाथाङ्का नाकालाई सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारी दिनुभयो।
सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला कमजोरीलाई आधार बनाएर लोकतान्त्रिक व्यवस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभयो। सुशासन, पारदर्शिता र जीवनोपयोगी शिक्षामार्फत युवालाई स्वदेशमै अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा विद्यालय स्थापना तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।