सिओल, भदौ १२ गते । दक्षिण कोरियाको केन्द्रीय बैंकले नयाँ सरकारद्वारा ल्याइएको अतिरिक्त बजेट योजनापछि आगामी वर्षको आर्थिक वृद्धिको अनुमान ०.१ प्रतिशतले बढाएको छ । बैंकको अनुसार, मूल्यवृद्धि समायोजन गरिएको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ मा ०.९ प्रतिशतले वृद्धि हुने छ, जुन तीन महिना अगाडि गरिएको ०.८ प्रतिशतको अनुमानभन्दा बढी हो ।
यो वृद्धिमा राष्ट्रपति ली जे-म्युंग नेतृत्वको सरकारले जनतालाई नगद सहायता प्रदान गरेर उपभोग बढाउने उद्देश्यले ल्याएको बजेट योजना मुख्य कारण रहेको जनाइएको छ । बैंकको यो अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषको ०.८ प्रतिशतको अनुमानभन्दा माथि भएपनि आर्थिक सहयोग तथा विकास संगठनले गरेको १.० प्रतिशतको अनुमानभन्दा तल छ ।
केन्द्रीय बैंकले सन् २०२६ मा आर्थिक वृद्धि दर १.६ प्रतिशत हुने अघिल्लो अनुमानलाई यथावत् राखेको छ । उपभोग्य वस्तुको मूल्यवृद्धि दर भने यस वर्ष २.० प्रतिशत र आगामी वर्ष १.९ प्रतिशत रहने अनुमान गरिएको छ । रासस/सिन्ह्वा