• १२ भदौ २०८२, बिहिबार

भौतिकभन्दा स्वास्थ्य र शिक्षा विकास महत्वपूर्ण : पूर्वराष्ट्रपति यादव

blog

पूर्वराष्ट्रपति डा. रामवरण यादव काठमाडौँको तारकेश्वर नगरपालिका–१०, लोकतान्त्रिक चोक मनमैजुमा शुभम इन्टरनेसनल हस्पिटल प्रालिको उदघाटन गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, भदौ १२ गते । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भए मात्र देशको विकास हुने बताउनुभएको छ । 

काठमाडौँको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा शुभम इन्टरनेसनल हस्पिटल प्रालि उद्घाटन गर्दै उहाँले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताउनुभएको हो ।

पूर्वराष्ट्रपति डा. यादवले  २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भएको बताउनुभयो । 

“विस २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिले पनि सन्तुष्ट हुने ठाउँ छैन,” उहाँले भन्नुभयो । 

उहाँले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पताललाई व्यवसायिक रूपमा मात्र नभई समाजसेवाको क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पुर्‍याउन नसकिएको बताउनुभयो । 

उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता केसीले दिन प्रतिदिन दक्ष चिकित्सक विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि राज्यले ठोस कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो । 

कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेख (ख) का सांसद इन्जिनियर अमन मास्के, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका निवर्तमान प्रमुख रामेश्वर बोहरा, तारकेश्वर वडा नं १० का वडाध्यक्ष कुमार राईलगायतले अस्पतालले तारकेश्वरवासीलाई विशेष सहुलियत दिएर उपचार गराउन आग्रह गर्नुभएको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका बिरामी आर्थिक अभावका कारण फर्कनु नपर्ने बताउनुभयो । १५ करोडभन्दा बढी लगानीमा तारकेश्वर नगरपालिका–१० मा सञ्चालित उक्त अस्पताल हाल २४ शय्यामा सञ्चालनमा रहेको छ । रासस