काठमाडौँ, भदौ १२ गते । राप्ती फुटबल क्लबले एन्फा महिला लिग छनोट फुटबलमा एफसी रियलेमाथि सहज जित निकालेको छ । च्यासल फुटबल मैदानमा बिहीबार भएको खेलमा राप्तीले रियलेलाई ४–० गोलले हरायो ।
एकपक्षीय खेलमा राप्तीलाई जिताउन डिना नेपालीले ५४औँ र ५९औँ मिनेटमा दुई गोल गर्नुभयो । यसअघि सरु हमालले छैटौँ मिनेट र अनिशा राईले ५७ओँ मिनेटमा एक एक गोल गर्नुभयो ।
जितसँगै राप्तीले चार खेलबाट सात अङ्क बनाएको छ । लगातार चारै खेलमा पराजित रियले अङ्कबिहीन छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।