• १२ भदौ २०८२, बिहिबार

अमेरिकासँगको तनावबिच मोदी-इसिबा भेटमा क्वाड छलफलको सम्भावना

blog

जापानका लागि भारतका राजदूत सिबी जर्ज ।

टोकियो, भदौ १२ गते । जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बिच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी शिगेरु इसिबाबिच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्ताव अघि सारेको छ । भारत र जापान जस्ता दुई प्रमुख नेता भेट्दा उहाँले भू-राजनीतिक र भू-आर्थिक विषयमा व्यापक छलफल गर्नु हुने छ, जसमा क्वाडको मुद्दा अवश्यै उठ्ने छ ।” अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको प्रश्नमा जर्जले भारत र जापान दुवै क्वाड सदस्य भएकाले वर्तमान भू-राजनीतिक तथा भू-आर्थिक अवस्थाबारे छलफल हुने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “यी सबै विषय वार्तामा उठ्ने छन् र भारतले अमेरिकासँगको सम्बन्धमा चुनौती भए पनि क्वाडलाई निरन्तर अगाडि बढाउने छ ।” उनले स्मरण गर्नुभयो, “क्वाड सन् २००४ को सुनामीपछि सुरु भएको हो र अहिले शिखर सम्मेलनदेखि विदेशमन्त्रीको बैठकसम्म सक्रिय बनेको छ । यसको एजेन्डा ठोस र सकारात्मक छ, त्यसैले भारत यसलाई अघि बढाउन प्रतिबद्ध छ ।”

मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि बिच जापान भ्रमण गर्नुहुने भएकाले यसलाई क्वाडको भविष्यसँग जोडेर हेरिएको छ । यसैबिच, अमेरिकाले जापानसँगको व्यापार सम्झौता पश्चात् २५ प्रतिशत प्रारम्भिक भन्सार शुल्क घटाउँदै हाल १५ प्रतिशत कर कम गरेको छ ।

प्रधानमन्त्री मोदी अगस्ट २९ देखि दुई दिने जापान भ्रमणमा रहनुहुने छ र वार्षिक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री इसिबासँग भेट गर्नुहुने छ । जापान भ्रमणपछि उहाँ अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुनुहुने छ । रासस-एएनआई