• १२ भदौ २०८२, बिहिबार

सरकारले उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्छ : महामन्त्री थापा

blog

उखु किसानको समस्यामा बारेमा सञ्चारकर्मीसँग धारणा राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापा। तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ १२ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आन्दोलनरत उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ। सरकारले चालु आवमा अनुदानका लागि बजेटसमेत छुट्टाइ सकेको र कृषि मन्त्रालयले उखु किसानलाई अनुदान दिने प्रक्रिया अघि बढाएकोले यो समस्या छिटै समाधान हुने बताउनुभएको हो।

सर्लाहीको लालबन्दीस्थित जुटपानी जाने क्रममा महोत्तरीमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै महामन्त्री थापाले यस्तो विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले उखु कृषकलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अन्तर्गत चालु आवका लागि दुई अर्ब रुपियाँ छुट्याएको र यसमा २०, २५ करोड थप गर्दा अहिले पैसा दिन अप्ठेरो नपर्ने बताउनुभयो।

सरकार आफैले अनुदान तोक्ने अनि तोके अनुसारको रकम नदिँदा समस्या भएको विषयमा कृषिमन्त्रीसँग छलफल गरेको जानकारीसमेत महामन्त्री थापाले गराउनुभयो।

महामन्त्री थापाले भन्नुभयो, ‘सरकारले तत्काल आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्नुपर्छ। त्यसपछि उखु उत्पादन र उत्पादकसँग जुटेका समस्यालाई दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्छ।’ बिहीबार साँझसम्म उखु किसानको समस्या समाधान हुने उहाँको विश्वास छ।