सुजन बज्राचार्य
संखुवासभा, भदौ १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणको पहिलो शर्त सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह भएको बताउनुभएको छ।
संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उहाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र अनुसन्धानसँग जोडेर जीवनोपयोगी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
“गाउँमा कृषि उद्यम, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससँगै शिक्षालाई उद्यमशीलतामुखी बनाउनुपर्छ,” उहाँले भन्नुभयो।
राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएको उल्लेख गर्दै पाठ्यक्रम र अध्यापन शैलीलाई आधुनिक, सीपमुखी र समयसापेक्ष बनाउनुपर्नेमा बल दिनुभयो। “कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणतर्फ उन्मुख गर्ने शिक्षा आजको आवश्यकता हो,” उहाँको भनाइ थियो।
देश विकासका लागि स्वदेशमै सृजनशील जनशक्ति आवश्यक रहेको बताउँदै उहाँले युवालाई विदेश पलायन रोक्न गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। “श्रमको सम्मान गर्ने संस्कृतिसहित सीपमूलक शिक्षा अब ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो।
संविधानले दिलाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो बलिदान र संघर्षको उपलब्धि भएको उल्लेख गर्दै उहाँले यस व्यवस्थाले मुलुकलाई स्वतन्त्रता र विकासको राजमार्गतर्फ अघि बढाइरहेको बताउनुभयो।
राजनीतिक परिवर्तनपछि जनताले राखेका अपेक्षा केही ढिलाइका कारण अपूरा देखिए पनि ती पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “समृद्धिको बाटोमा बाधक बनेका बेथितिको अन्त्य र सुशासन नै पहिलो शर्त हो भन्ने कुरा हामीले भुल्नु हुँदैन।”
संखुवासभा जलविद्युत उत्पादन र पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको जिल्लामध्ये एक भएको स्मरण गर्दै राष्ट्रपति पौडेलले चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार विस्तार गर्न सकिने अवसर रहेको बताउनुभयो। उहाँले कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दालाई देशको विकासको आधारस्तम्भका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।