• ११ भदौ २०८२, बुधबार

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

blog

तेहरान, भदौ ११ गते । इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहुदी विरोधी आक्रमणको पछाडि तेहरानको हात रहेको भन्ने अस्ट्रेलियाको आरोपलाई मङ्गलबार खारेज गरेको छ ।

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत अक्टोबरमा सिड्नीस्थित कोशेर क्याफेमा भएको आगलागी र गत डिसेम्बरमा मेलबर्नको सिनागगमा भएको ठुलो आगलागीबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले तेहरानमाथि लगाउनुभएको आरोपको खण्डन गर्नुभयो ।

यसै क्रममा उहाँले अस्ट्रेलियाले इरानी राजदूत अहमद सादेगीलाई निष्कासन गर्ने निर्णयप्रति पनि प्रतिक्रिया जनाउनुभयो । “स्वाभाविक रूपमा, कूटनीतिक स्तरमा गरिने कुनै पनि अनुचित र अन्यायपूर्ण कदमले पारस्परिक प्रतिक्रिया पाउने छ । यो नयाँ विकास हो र मेरा सहकर्मीहरूले इस्लामिक गणतन्त्र इरानको औपचारिक प्रतिक्रियाबारे निर्णय गर्न मुद्दालाई विचार गरिरहेका छन्”, बाघाईले भन्नुभयो ।

उहाँले भन्नुभयो, “विगत दुई हप्तामा अस्ट्रेलियामा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा भइरहेको जनहत्या विरुद्ध लाखौँको सहभागितासहित ठुला प्रदर्शन भएका छन् । साथै अस्ट्रेलियाका केही राजनीतिज्ञले पनि दुर्लभ कदम स्वरूप इजरायलका गतिविधिहरूको केही आलोचना गरेका छन् ।”

बाघाईका अनुसार इरानविरुद्ध अस्ट्रेलियाले हालै चालेको कदम ‘वास्तवमा कूटनीति र दुई देशबिचको सम्बन्धविरुद्धको कारबाही’ हो, जुन ती साना इजरायल विरोधी आलोचनाहरूको क्षतिपूर्ति गर्न गरिएको हो । प्रधानमन्त्री अल्बानिजले मङ्गलबार अस्ट्रेलियाले इरानका लागि आफ्ना राजदूत फिर्ता बोलाउने र तेहरानस्थित दूतावासको सञ्चालन स्थगित गर्ने घोषणा गर्नुभएको थियो । रासस/सिन्ह्वा