काठमाडौँ, भदौ ११ गते । तोकिएको समयमा स्वास्थ्य बिमा नवीकरण नगरेमा थप शुल्क लाग्ने भएको छ ।
स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै बीमित परिवारले तोकेको समयभित्र बिमा नवीकरण नगरे थप शुल्क लाग्ने व्यवस्था गरेको जानकारी गराएको छ ।
सूचना अनुसार बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बीमित परिवारलाई आगामी असोज मसान्तसममा बीमा नवीकरण गरेमा एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने निर्णय गरेको हुँदा अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत बिमा नवीकरण गर्न बोर्डले सम्पूर्ण बीमितलाई अनुरोध गरेको छ ।
उक्त अवधि पछि म्याद गुजारी नवीकरण गर्ने बीमित परिवारलाई थप शुल्क लाग्ने बोर्डको सूचनामा उल्लेख छ ।
सूचना अनुसार म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने छ । छ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने, छ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्ने व्यवस्था गरेको छ ।
त्यसैगरी, एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्ने, दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने बोर्डले सूचना उल्लेख छ ।