जेरुसलेम, भदौ ११ गते । इजरायलका अनुसन्धानकर्ताले वनजङ्गलमा लाग्ने आगोको जोखिम पहिचान गर्न देश र क्षेत्र अनुसार अनुकुलन गर्न सकिने कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित नयाँ विधि विकास गरेका छन् । टेल अविभ विश्वविद्यालयले मङ्गलबार जानकारी दिएको हो ।
जलवायु परिवर्तनका कारण विश्वभर वनजङ्गलमा आगोको सङ्ख्या र तीव्रता बढिरहेको छ, जसले वातावरणमा हानिकारक ग्यास उत्सर्जन गर्दै स्थानीय समुदाय र पारिस्थितिकी प्रणालीलाई गम्भीर असर पुर्याइरहेको छ । अहिलेसम्म वनजङ्गल आगोको जोखिम मापन गर्ने सूचकाङ्क मुख्यरूपमा अस्ट्रेलिया, क्यानाडा र अमेरिका जस्ता देशमा विकास भएका थिए ।
ती देशमा तिनीहरूको प्रभावकारिता राम्रो भए पनि अन्य क्षेत्रमा सटीकता कम हुने समस्या थियो । नयाँ विधिले प्रत्येक देशको जलवायु, वनस्पति, जमिनको प्रयोग र आगो लाग्ने कारणअनुसार सूचकाङ्कलाई परिमार्जन गरी पूर्वानुमानको सटीकता ७० प्रतिशतबाट ८६ प्रतिशतसम्म पुर्याएको छ ।
अध्ययनका क्रममा क्यानाडाली सूचकाङ्क सबैभन्दा भरपर्दो प्रमाणित भयो । अनुसन्धानकर्ताले जेनेटिक एल्गोरिदम प्रयोग गरी यसलाई प्रत्येक देशका लागि अनुकुलन गरेका थिए । त्यसपछि देश अनुसारको कृत्रिम बुद्धिमत्ता मोडेल बनाएर सजिलै प्रयोग गर्न मिल्ने निर्णय वृक्षमा रूपान्तरण गरे ।
यस नयाँ प्रणालीले आपत्कालीन सेवालाई छिटो र सही पूर्वसूचना दिन, स्रोतको प्रभावकारी प्रयोग गर्न र क्षति न्यूनीकरणमा सहयोग पुर्याउने छ । यो विधि भविष्यमा विश्वभर बनजंगल रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा