• ११ भदौ २०८२, बुधबार

रुस–युक्रेन युद्धमा मारिएका क्षितिजको दुई वर्षपछि काजकिरिया

blog

बस्नेतको काजकिरियामा बसेका श्रीमती र छोरा ।

राजकुमार भट्टराई 

खोटाङ, भदौ ११ गते । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ । 

रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि काज किरिया सुरु गरिएको हो । 

रुसी सेनामा भर्ती हुने भन्दै दुबईबाट २०८० असोज १५ गते रुस गएका क्षितिजको रुस–युक्रेन युद्धमा २०८० कात्तिक ६ गते मृत्यु भएको थियो । 

दुबईमा सेक्युरिटी गार्डको काम गरिरहेका क्षितिज आकर्षक तलब पाइने आशामा रुसी सेनामा भर्ती हुन रुस गएका थिए । रुसी सेनामा भर्ती भएको करिब तीन हप्तामै क्षितिजले ज्यान गुमाएको छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले बताउनुभयो । क्षितिजलाई भर्ती लगत्तै युद्ध क्षेत्रमा लगिएको थियो । 

क्षितिजका श्रीमती भीमकला आचार्य रुसमा पुगेर कानुनी प्रक्रिया पूरा गरेर शवको दाहसंस्कार गरेर फर्किएपछि काज किरिया थालिएको हो । क्षितिजकी श्रीमती भीमकला र ११ वर्षका छोरा आदित बस्नेत सामाजिक परम्परा अनुसार काज किरियामा बसेका छन् । भीमकला रुस पुगेर काठमाडौं हुँदै भदौ १० गते घर आइपुगे लगत्तै काजकिरिया थालिएको हो । 

रुसी सेनामा भर्ती भएका क्षितिजको २०८० कात्तिक २ गते परिवारसँग अन्तिम सम्वाद भएको थियो । त्यो सम्पर्कमा क्षितिजले १५ दिनको जङ्गली कोर्समा लैजान लागेको र सो क्रममा मोबाइल चलाउन नपाइने भएकाले सम्पर्क हुन नसक्ने जानकारी दिएका थिए । त्यही सम्पर्कमा क्षितिजले ‘यहाँ त गाह्रो हुने रहेछ’ भन्दै ‘रुवाउने शब्दहरू’ बोलेका थिए । त्यसपछि उनी सम्पर्क विहिन बनेका थिए । 

क्षिजित शसस्त्र प्रहरीमा कार्यरत थिए । पाँच/सात वर्ष शसस्त्रमा काम गरेपछि राजीनामा दिएर सेक्युरिटी गार्डको काम गर्न दुबई गएका थिए । दुई वर्ष दुबई बसेर घर आएपछि पुनः सोही कम्पनी र काममा फर्किएका थिए । दुबईबाट रुस पुगेपछि रुसी सेनाको पोशाक लगाएका र आधुनिक हतियार बोकेका तस्बीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । 

क्षितिज सम्पर्क बिहीन बनेको करिब पाँच महिना बितेको थियो । युद्धमा लगिएका क्षितिजको अवस्था अज्ञात थियो । रुस सरकारले सम्पर्क विहिन बनेका क्षितिज सहित १५ नेपालीको शवको पहिचान र जेनेटिक टेस्टका लागि निकट परिवारका सदस्यको डिएनए नमुना पठाउन नेपाल सरकारलाई आग्रह गरेपछि मात्रै क्षितिजको पनि रुस–युक्रेन युद्धमा मृत्यु भएको पुष्टि भएको थियो ।