• ११ भदौ २०८२, बुधबार

अढाई वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने एन्फाको तयारी

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदौ ११ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय स्तरका दर्जनौँ खेलाडी वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम ह्वात्तै बढेको छ ।

पछिल्लो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका दुई दर्जन खेलाडीले अष्ट्रेलिया र युरोपको यात्रा तय गरिसकेका छन् । विभिन्न बहानामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिग सञ्चालन गर्न नसक्दा खेलाडीले रोजगारी गुमाउनुपर्दा विदेश रोजाइ बनेको हो ।

नेपाली फुटबल खेलाडीले अढाई वर्ष अघिसम्म स्वदेशमै लिग खेलेर धेर धोर कमाई गर्दै आएका थिए । लिग हुन नसक्दा बेरोजगार बनेको भन्दै खेलाडीले बारम्बार एन्फालाई दबाब दिँदै आएका थिए ।

हालै फुटबल खेलाडी सङ्घका पदाधिकारीले पनि एन्फालाई लिग सञ्चालन गर्न आग्रह गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए । खेलाडी र फुटबल समर्थकको दबाबपछि एन्फाले यस वर्ष ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने छनक देखाएको छ ।

लिग सञ्चालन गर्न एन्फाले बुधबार मात्र लिग बारे छलफल गर्नका लागि ‘ए’ डिभिजमा रहेका १४ क्लबलाई पत्राचार गर्दै बैठकमा बोलाएको छ । एन्फाले यही भदौ १५ गते क्लबहरुसँग लिग सञ्चालनका लागि छलफल गर्न बैठकमा बोलाएको हो । 

हाल ‘ए’ डिभिजनमा मनाङ मर्स्याङ्दी, सङ्कटा, एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, फ्रेन्ड्स, मछिन्द्र, जावलाखेल युथ, एनआरटी, सातदोबाटो युथ, प्लानिङ ब्वाइज युनाइटेड र  श्री भगवती फुटबल क्लब रहेको छ । 

पछिल्लो समय २०७९/२०८० मा लिग भएको थियो । २०८० को जेठ २३ गते चर्च ब्वाइजलाई च्याम्पियन बनाउँदै लिग सकिएपछि ‘ए’ डिभिजन लिग सुचारु हुन सकेको छैन ।