अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ ९ गते । बेनी नगरपालिका ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालकहरु जिल्ला अदालत म्याग्दीको अन्तिम फैसला आउने समयसम्मै पुर्पक्षका लागि थुनामा रहने भएका छन् ।
सहकारी गठीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि म्याग्दी जिल्ला कारागारमा थुनामा रहेका सहकारीका पूर्व उपाध्यक्ष बेनी नगरपालिका १ का राजकुमार थापा समेतको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएसँगै अब जिल्ला अदालतको अन्तिम फैसला सम्म पुर्पक्षमै रहन पर्ने भएको छ । म्याग्दी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध उच्च अदालत पोखराको बागलुङ इजालसमा जाँदा जिल्लाकै आदेश सदर भएको थियो । उक्त पुर्पक्षका लागि थुनामा राख्ने आदेशका विरुद्ध सर्वोच्च अदालतमा बन्दि प्रत्यक्षीकरण रिट हालेकोमा उक्त रिट खारेज भएको हो ।
जिल्ला र उच्चको आदेशविरुद्ध २०८२ असार २ गते सर्वोच्च अदालतमा वन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । उक्त रिटका उपर असार ३ र ३२ गते तथा साउन ११ र भदौ ३ गते तारेख तोकीएको थियो । त्यसैगरी असार ३ गते न्यायाधीश बालकृष्ण ढकालको इजालसमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको थियो । साउन ४ गतेको सारङ्गा सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजालसमा पर्दा अन्य आदेश भएकोमा अन्तिम पटक भदौ ३ गते विनोद शर्मा र शान्तिसिंह थापाको इजालसले वन्दीप्रत्यक्षीकरण रिट नै खारेज गरिदिएको सर्वोच्च अदालतको बेवसाइटमा उल्लेख छ ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराको पत्र अनुसार गत २०८१ माघ २० गते बेनी नगरपालिका १ का राजकुमार थापा समेत पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले फागुन ७ गते थप १ जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदन अनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।
कुल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ विगो दावी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले गत २०८१ फागुन १५ गते जिल्ला अदालत म्याग्दीमा २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दर्ता गरेको थियो । फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएमा वा म्याद नाघेपछि नियम अनुसार पेश गर्न आदालतले आदेश दिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले जिल्ला अदालत म्याग्दीमा दर्ता गरेको अभियोजन अनुसार संस्थाका पूर्व सचिव तथा वर्तमान अध्यक्ष यामबहादुर रोका, पूर्व उपाध्यक्ष डकमायाँ पाइजा, पूर्व सहसचिव बालकुमार रोका, पूर्व सदस्य नरबहादुर थापा मगर, गंगाप्रसाद पुन फरार रहको उल्लेख छ । त्यसैगरी पूर्व सदस्य विष्णुकुमारी गुरुङ, लेखा समितिका पूर्व सयोजका भोजबहादुर थापा मगर, पूर्व सदस्य भुलमायाँ तिलिजा, दिलबहादुर थपा, सविता पुन, डिलकुमारी पुर्जा, डिलबहादुर पुन, गनमती शेरपुजा, सिरमती पाइजा, सुर्यलाल पुर्जा मगर, गेमबहादुर घर्ती मगर, दुधकुमारी शेरबुजा, जमुना पुन पुर्जा र नरबहादुर गर्बुजा पुनलाई फरार भन्दै सहकारी ठगीसम्बन्धी कसुरमा अभियोजन गरेको थियो ।
बेनी नगरपालिका ८ मा रहेको कुमारी सहकारीका अध्यक्ष तथा मंगला गाउँपालिका ३ का निर्वाचित वडा अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले २०८१ माघ २० गते देखि खोजी गरी रहेको भए पनि भेट्न नसकेको भन्ने देखिन्छ । तर उहाँले मंगला गाउँपालिका वडा नं. ३ को लेटर हेडमा वडा सदस्यलाई कार्यवाहक दिँदै गत असार सम्म मंगला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालपोत कार्यालय म्याग्दीलाई पटकपटक पत्राचार गर्ने गर्नुभएको थियो । त्यस भन्दा अगाडी एकएक महिनाका लागि कार्यवाहक दिँदै आउनु भएका रोकाले असारमा भने आफू नआउँदा सम्मका लागि भन्दै वडा सदस्य भेषकुमारी पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नु भएको थियो ।
म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले २०८१ माघ २० गते सहकारीको बचत अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेपछि त्यो मुद्दामा जोडिएका र हाल सम्म सम्पर्कमा नआएका सबै सोही दिन देखि नै फरार रहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘माघ २० गते पाँच जना पक्राउ र त्यस पछि फागुन १५ गते जिल्ला अदालतमा अभियोजन दर्ता भयो, २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि २५ गते बाँकी १९ जना बिरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।’ पक्राउ पुर्जी जारी भएपछि चैत ४ गते यामबहादुर रोकाको घरमा पुर्जी टाँसीएकोले उनी सबैलाई जानकारी भएकै फरार अभियुक्त हुन् उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाले प्रहरीले खोजी गरी रहेको भए पनि फेला नपरेको बताउनुभयो । उहाँले आफूहरु यामबहादुर रोका मात्रै नभएर कुमारी सहकारीको फरार सूचीमा रहेका १९ जनालाई नै खोजी गरीरहेको भए पनि फेला पार्न नसकेको बताउनुभयो ।
म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बेनी नगरपालिका १ का राजकुमार थापा सहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । २०८१ फागुन १८ गते आइतबार देखि शुरु भएको बयान तथा २२ गते बुधबार सम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्व उपाध्यक्ष थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकेस भन्ने लोकबहादुर पुनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।