• ९ भदौ २०८२, सोमबार

लय समात्दै अर्थतन्त्र

blog

  •  आर्थिक वृद्धि ४.६१ प्रतिशत 
  •  घट्यो मूल्यवृद्धि 
  •  उच्च विप्रेषण

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते । अर्थतन्त्रले क्रमशः लय समात्दै छ । कोरोना, रुस–युक्रेन युद्ध जस्ता बाह्य परिस्थितिका कारण विश्व अर्थतन्त्रमा नै मन्दीको असर जस्तो बाह्य समस्या र आन्तरिक आर्थिक शिथिलताले खस्केको अर्थतन्त्रमा सुधार आउँदै गरेको सूचकहरूले देखाएका छन् । 

अर्थतन्त्र झन्डै एक प्रतिशतले विस्तार भएको छ भने वार्षिक औसत मूल्यवृद्धि घटेको छ । त्यस्तै शोधनान्तर स्थिति बढेर झन्डै ९५ अर्ब रुपियाँले बचतमा पुगेको छ । आयातनिर्यात व्यापारमा निर्यातले त छलाङ नै मारेको छ । अघिल्लो आवमा निर्यात ३.० प्रतिशतले घटेकामा ८१.८ प्रतिशतले बढेको छ । 

कुल वस्तु व्यापार घाटा भने अघिल्लो वर्ष १.० प्रतिशतले कमी आएकामा गत वर्ष ६.० प्रतिशतले वृद्धि भई १५२७ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.६ प्रतिशत रहेको आयातनिर्यात अनुपात १५.४ प्रतिशत 

पुगेको छ । 

नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा वित्तीयस्थितिसम्बन्धी प्रतिवेदन अनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार आई आर्थिक गतिविधि बढ्दा आर्थिक वृद्धि ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो आव २०८०/८१ को आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कमा आधारित भई नेपाल राष्ट्र बैङ्कले नयाँ आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको हो । यसअघि आव २०८१/८२ मा आर्थिक वृद्धिदर ४.० रहेको जनाइएको थियो । केन्द्रीय बैङ्कका अनुसार कृषि क्षेत्रको वृद्धि ३.२८ प्रतिशत, उद्योग क्षेत्रको ४.५३ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको अनुमान छ ।

कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.१६ प्रतिशत, १२.८३ प्रतिशत र ६२.०१ प्रतिशत रहेको छ । कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको ६.५५ प्रतिशत रहेको र कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ उत्पादनसँगको अनुपात क्रमशः २४.०७ प्रतिशत र ३६.२४ प्रतिशत रहेको समीक्षामा जनाइएको छ ।

घट्यो मूल्यवृद्धि

अघिल्लो आवमा ५.४४ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति गत आवमा घटेर ४.०६ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पनि अघिल्लो आवको असारमा ३.५७ प्रतिशत रहेकामा २०८२ असार २.२० प्रतिशत रहेको छ । 

आव २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि सबैभन्दा बढी १०.७१ प्रतिशत रहेको छ । त्यसपछि घिउ तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत मूल्यवृद्धि भएको छ । मरमसला उपसमूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आव ६.४७ प्रतिशत रहेकामा गत आवमा ४.६९ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आर्थिक वर्ष ४.६४ प्रतिशत रहेकामा गत अवमा घटेर ३.७१ प्रतिशत पुगेको छ । आव २०८१/८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ ।

कर्णालीभन्दा कोशीमा महँगी

प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी मुद्रास्फीति कोशीमा र कम कर्णालीमा रहेको छ । आव २०८१/८२ मा कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४६ प्रतिशत रहँदा कर्णालीमा भने ३.३१ प्रतिशत रहेको छ । कोशीपछि सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत, मधेश प्रदेश ४.१४ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७० प्रतिशत, बागमती प्रदेशको ३.५७ प्रतिशत र गण्डकी प्रदेशको ३.३२ प्रतिशत रहेको छ । 

वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिका आधारमा कोशी प्रदेशको ३.६७ प्रतिशत, मधेश प्रदेशको १.९९ प्रतिशत, बागमती प्रदेशको १.८१ प्रतिशत, गण्डकी प्रदेशको १.७१ प्रतिशत, लुम्बिनी प्रदेशको १.७८ प्रतिशत, कर्णाली प्रदेशको १.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत रहेको छ ।

विप्रेषण आप्रवाह

आव २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई हालसम्मकै उच्च १७२३ अर्ब २७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यो वृद्धि १६.५ प्रतिशत थियो । अघिल्लो वर्षको असारमा ११७ अर्ब ७८ करोड रुपियाँ रहेको २०८२ असारमा १८९ अर्ब ११ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८७४ अर्ब ३० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५७१ अर्ब २४ करोड रुपियाँ रहेको थियो ।

आव २०८१/८२ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५,०५,९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,३३,३०९ रहेको छ । 

शोधनान्तर स्थिति बलियो

समीक्षा अवधिमा शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

चालु खाता अघिल्लो वर्ष चालु खाता रु. २२१ अर्ब ७१ करोडले बचतमा रहेकामा गत आवमा ४०९ अर्ब २० करोडले बचतमा छ । अमेरिकी डलरमा अघिल्लो वर्षमा एक अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा तीन अर्ब एक करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. ५०२ अर्ब ४९ करोडले बचतमा रहेकामा समीक्षा वर्षमा ५९४ अर्ब ५४ करोड रुपियाँले बचतमा छ । 

निर्यात बढ्यो

आव २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २७७ अर्ब तीन करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता, चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, 

जिङ् सिट, जुस, अदुवा, तयारी पोसाकलगायतका वस्तुको निर्यात घटेको छ । आव २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८०४ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.२ प्रतिशत र ३१.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पाटर्स, चामल/धान, खानेतेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाजका स्पेयर पार्टपुर्जा, सुन, रासायनिक मल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको छ ।

विदेशी विनिमय सञ्चिति बढ्यो

केन्द्रीय बैङ्कका अनुसार २०८१ मा २०४१ अर्ब १० करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ मा २६७७ अर्ब ६८ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

आव २०८१/८२ को आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 

२०८२ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २९२९ अर्ब ६९ करोड रुपियाँ तथा दायित्व २१४६ अर्ब ४३ करोड रुपियाँ रहेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७८३ अर्ब २६ करोड रुपियाँले बचतमा रहेको जनाइएको छ । २०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३०५ अर्ब ८४ करोडले बचतमा थियो ।   

वित्तीय घाटा बढ्यो

आव २०८१/८२ मा समग्र आर्थिक सूचक राम्रा रहँदा सरकारको वित्त स्थिति भने उत्साहप्रद रहेन । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आवमा बैङ्किङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ४०४ अर्ब ४२ करोड रुपियाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ३७९ अर्ब ३८ करोड रुपियाँले घाटामा थियो । आव २०८१/८२ मा तिनै तहका सरकारको एकीकृत वित्त स्थिति भने १३० अर्ब ७३ करोड रुपियाँले बचतमा रहेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा नेपाल सरकारको कुल खर्च १५२३ अर्ब ११ करोड रुपियाँ रहेको छ । यसमध्ये चालु खर्च ९८० अर्ब ३८ करोड, पुँजीगत खर्च २२२ अर्ब ६८ करोड र वित्तीय व्यवस्था खर्च ३२० अर्ब चार करोड रुपियाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ११७८ अर्ब ८२ करोड रुपियाँ पुगेको छ । यस अन्तर्गत कर राजस्व १०४९ अर्ब ८८ करोड रुपियाँ र गैरकर राजस्व १२८ अर्ब ९४ करोड रुपियाँ परिचालन भएको छ ।

ऋण परिचालन गत आवमा नेपाल सरकारले रु.३२९ अर्ब ९९ करोड रुपियाँ आन्तरिक ऋण परिचालन गरेको छ भने रु. २४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ ।

यस आधारमा उक्त अवधिमा ८६ अर्ब आठ करोड रुपियाँ खुद आन्तरिक ऋण परिचालन भई कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत पुगेको छ । यस अवधिमा सरकारले १२५ अर्ब ४० करोड रुपियाँ बाह्य ऋण परिचालन गरेको छ ।

२०८२ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २६६९ अर्ब ६५ करोड रुपियाँ पुगेको छ । जसमध्ये बाह्य ऋण १४०१ अर्ब ४२ करोड र आन्तरिक ऋण १२६८ अर्ब २२ करोड रुपियाँ रहेको छ । आव २०८१/८२ मा कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४३.७१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण कुल गार्हस्थ उत्पादनको ४२.७१ प्रतिशत रहेको थियो ।