देवराम यादव
सप्तरी, भदौ ८ गते । सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीको लागि बैठक, छलफल लगायतको कार्यक्रम अगाडि बढाइएको छ। आगामी असोज १७, १८ र १९ गते राजविराजमा यो महासम्मेलनको आयोजना गरिने भएको हो ।
नेपाल पत्रकार महासङ्घ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले महासम्मेलनलाई सफल बनाउन शनिबार देव समुदायबाट राजनीतिक दलका नेता, सञ्चारकर्मी, अधिवक्तासहित बौद्धिक पक्षसङ छलफल गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले वागेश्वरी सेवा समितिको सभाहलमा आयोजित छलफल कार्यक्रमका वक्ताहरूले स्वजातीयको पहिचान, संस्कृति जगेर्नाको सवालमा यो महासम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो । अध्यक्ष देवले समुदायभित्रको विकृती, विसङ्गतिलाई हटाउन पनि महासम्मेलनमा बहस गर्न, जातीय उत्थानका विषयवस्तु सुझावको रूपमा आएको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक अगुवा जितेन्द्रनारायण देव, नेकपा एसका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी,समाजसेवी एवं नेपाली कांग्रेसका नेता ध्रुव देव, नेपाल पत्रकार महासङ्घ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, लगायतले महासम्मेलनबारे आ आफनो विचार व्यक्त गरेका थिए ।
वागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । वागेश्वरी सेवा समिति, भवानी सेवा समिति, विराट देव सेवा समिति, देव सेवा समितिको आयोजनामा देव अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना हुने आयोजकले जनाएको छ ।