• ८ भदौ २०८२, आइतबार

ओजस्वी आचार्य ‘जागरण दूत’ घोषित

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पाल्पाकी छात्रा ओजस्वी आचार्यलाई ‘जागरण दूत’ घोषणा कार्यक्रममा । तस्बिर : सशस्त्र प्रहरी बल

काठमाडौं, भदौ ८ गते। सशस्त्र प्रहरी बल नेपालले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको अभियानमा पाल्पाकी छात्रा ओजस्वी आचार्यलाई ‘जागरण दूत’ घोषणा गरेको छ।

दमकडा नमुना माध्यमिक विद्यालय तानसेन, पाल्पामा कक्षा ९ मा अध्ययनरत आचार्यलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार रुपन्देहीस्थित नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको आठौँ वार्षिकोत्सवका अवसरमा सम्मान गर्नुभएको हो । 

‘लागूऔषधको दुर्व्यसन, त्यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयमा आयोजित विद्यालयस्तरीय वक्तृत्व प्रतियोगितामा आचार्य प्रथम हुनुभएको छ । लुम्बिनी प्रदेशका ७२ विद्यालयका ११६ विद्यार्थीबीच भएको प्रतिस्पर्धामा निर्णायक मण्डलले उत्कृष्ट ठहर गरेपछि उहाँलाई ‘जागरण दूत’ घोषणा गरिएको हो।

सोही अवसरमा द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने बर्दियाकी श्रीतिका भट्टराई, बाँकेकी परी के.सी. र बर्दियाकी शुभेक्षा खड्कालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।