• ८ भदौ २०८२, आइतबार

चौरचन पर्व नजिकिएसँगै बाँस र माटाका सामग्री व्यापारमा वृद्धि

blog

जनकपुरधामस्थित पेठिया बजारमा बेच्न राखिएका बाँसका सामग्री । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी  

जनकपुरधाम, भदौ ८ गते । मिथिलाको लोकपर्व चौरचन (चौठचाँद) नजिकिँदै गर्दा जनकपुरधाममा बाँस र माटाका सामग्रीको व्यापार चहकिलो बनेको छ ।

विशेषगरी जनकपुरधामस्थित पेठिया बजारमा बाँसबाट बनेका रंगीबिरंगी सूपा, डलिया, टोकरी तथा माटोका दियो, मट्का (दही जमाउने माटाको भाँडो), बाटोका ढकनीजस्ता समाग्रीले बजार चहकिलो बनेको हो ।

स्थानीय व्यापारीहरूका अनुसार पर्व नजिकिँदै गर्दा माग उल्लेख्य मात्रामा बढेको छ । व्यापारी निलम कुमारी भन्नुहुन्छ, “चौरचनमा चन्द्रलाई अर्घ दिने परम्परागत चलन भएकै कारण यो बेला बाँस र माटोका सामग्री बढी बिक्छन् । सामान्य समयमा एक दिनमा २र४ वटा मात्रै बिक्री हुने सामान अहिले ४०-५० वटासम्म जान्छ ।”

त्यस्तै, माटोका भाँडा बनाउँदै आएका कुम्हाल समुदायकी  सुखनी देवी पण्डित भन्नुहुन्छ,“हामी वर्षभरि भाँडा बनाउँछौं, तर यस पर्वतिहारमा सबैभन्दा बढी आम्दानी हुन्छ । चौरचनका बेला दही जमाउने माटोका भाँडाको माग बढी हुन्छ । त्यसकारण बजारमा राख्नेबित्तिकै बिक्री भइसकेको हुन्छ ।”

पेठिया बारमै किनमेल गरिरहनु भएकी रुवि कुमारी भन्नुहुन्छ, “प्लास्टिकका सामान बजारमा छन् । तर चौरचनमा परम्परागत बाँस र माटोका भाँडा नै प्रयोग गरिन्छ । यसले संस्कृति र प्रकृतिलाई पनि जोगाएर राखेको छ ।”

मिथिलामा प्रचलित चौरचन पर्वमा घरपरिवारले चन्द्रमालाई अर्घ दिने चलन छ । यसका लागि परम्परागत रूपमा बाँस र माटोका भाँडो प्रयोग हुने भएकाले यो पर्व किसान, कारीगर र व्यापारी सबैका लागि रोजगारी र आम्दानीको अवसर पनि बनेको छ ।