सन्तोष राउत
सोलुखुम्बु, भदौ ८ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाकै लगातार दोस्रो पटक उत्कृष्ट भएको छ । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी अङ्क ८४ दशमलव ५० प्राप्त गर्दै सोलुदूधकुण्ड जिल्लाको उत्कृष्ट बनेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को स्वमूल्याङ्कन (लिसा) मा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका जिल्लाको पहिलो स्थानीय तह भएको उल्लेख गरिएको छ ।
शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको लिसामा नगरपालिकाले अघिल्लो वर्षसमेत प्रथम स्थान हासिल गरेको थियो ।
विभिन्न १० वटा बिषयक्षेत्र समेटेर तयार गरिने नतिजामा सङ्घीय मामिला मन्त्रालयले तय गरेको मापदण्ड अनुरूप काम गरेकाले नगपालिका उत्कृष्ट भएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो। यस नतिजाले नगरपालिकार्लाइ कार्य सम्पादनमा थप हौसला मिलेको उहाँको भनाइ छ ।
त्यस्तै, लिखुपिके गाउँपालिकाले ७९ दशमलव ७५ अङ्कसहित दोस्रो, नेचासल्यान गाउँपालिकाले ७९.२५ अङ्क प्राप्त गरी तेस्रो भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले ७९ अङ्क प्राप्त गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका ७८ अङ्क, माप्य दूधकोशी गाउँपालिकाले ६७ दशमलव ५० अङ्क, महाकुलुङ गाउँपालिका ५८ दशमलव ५७ अङ्क प्राप्त गरेको छ भने सोताङ गाउँपालिका ५२ दशमलव २५ अङ्कका साथ अन्तिम स्थानमा छ ।
स्थानीय तहहरूको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन साथै सहकार्य र समन्वय लगायतमा मूल्याङ्कन गर्ने गरिन्छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको हरेक आर्थिक वर्षमा स्वमूल्याङ्कन गर्ने गर्दछ ।