प्रतीक पौडेल
मर्चवार (रूपन्देही), भदौ ८ गते । ३७ वर्षसम्म शिक्षक सेवामा समर्पित थम नारायण सिलवाल (थमन) अवकाशपछि रूपन्देहीको सैनामैना नगरपालिका–६ स्थित आफ्नै घर फर्किनुभयो । अवकाशपछिको जीवन कसरी बिताउने भन्नेबारे उहाँले योजना बनाउनुभएकाे थिएन । तर बारीको खाली जमिनले उहाँलाई नयाँ अवसर देखायो । त्यसपछि थमनले के गर्ने भनेर सोचविचार गर्न थाल्नुभयो । एक दिन युट्युब हेर्दै गर्दा ड्रागन फलको खेती बारे बुझ्नुभयो ।
सामाजिक प्लेट फर्म युट्युब हेरेकै भरमा उनले ड्रागन खेती सुरु गर्ने निधो गर्नुभयो । यसका लागि थमनले नेपालका थुप्रै ठाउँमा पुगेर अध्ययन गर्नुभयो, ड्रागन फलको जातहरू बारे बुझ्नुभयो र अन्तिममा आफूले खोजेको जात भारतको हैदराबादमा पाइन्छ भन्ने पत्ता लगाउनुभयो ।
थमन भन्नुहुन्छ, “वि.सं. २०८० साल वैशाखमा भारतको हैदराबादबाट बिरुवा ल्याएर उहाँले करिब १४ कट्ठा जमिनमा ड्रागन फलको बिरुवा रोपे” । थमनले सुरुवाती अवस्थामा चार सय पोलमा १६ सय बिरुवा रोपेर ड्रागन खेतीलाई आफ्नो नयाँ जीवनयात्राको हिस्सा बनाएको बताउनुहुन्छ ।
शिक्षक जीवनमा सयौँ विद्यार्थीलाई उज्यालो भविष्य देखाउनुभएको थमन कृषि जेटिए पढेका कारण खेती गर्न सहज भएको बताउनुहुन्छ । बिरुवाको संरचना, मलजलदेखि रोग व्यवस्थापनसम्मको सीपले उहाँलाई थप आत्मविश्वास दिएको छ ।
पहिलो वर्ष थमनले पाँच क्विन्टल उत्पादन गर्न सफल हुनुभयो, यस वर्ष अहिलेसम्म उहाँले करिब १२ क्विन्टल ड्रागन फल उत्पादन गरिसक्नुभएको छ । औसत प्रतिकिलो चार रुपियाँमा बिक्री हुँदा उल्लेख्य आम्दानी प्राप्त भएको छ । थमनका अनुसार मङ्सिरसम्म थप १२ क्विन्टल फल उत्पादन हुने अनुमान छ । थमनले ड्रागन फल वैशाखमा फुल्न सुरु गर्ने र असारदेखि मङ्सिर एकै सिजनमा सात पटकसम्म टिप्न लायक हुने जानकारी दिनुभयो ।
थमन भन्नुहुन्छ, “ड्रागन फल खेती राम्रो गर्नु छ भने आफैँ खट्नुपर्छ, अरूको भरमा खेती गर्छु भनेर राम्रो उत्पादन हुँदैन ।” थमनका अनुसार यो फल पानी बढी भयो भने पनि बिग्रन्छ, पानी कम भयो भने पनि बिग्रन्छ । यो फलले धेरै मल खोज्छ ।
उत्पादन भएको फल थमनले बुटवल पुर्याएर बिक्री गर्नुहुन्छ, जहाँ बजार सजिलै पाइन्छ र माग पनि बढ्दो छ । सिलवालको अवकाश जीवन अब खेतमै रमाउने दिनचर्यामा बदलिएको छ । बिहान बेलुकी बिरुवा हेर्ने, पानी हाल्ने र फल टिप्ने उहाँको नयाँ व्यस्तता बनेको छ ।
गाउँमा थमनको ड्रागन बगैँचा हेरेर अन्य अवकाश प्राप्तहरू समेत कृषितर्फ आकर्षित भएका छन् । गाउँमा फैलिएको यो नयाँ अभ्यासले देखाइदिएको छ-अवकाश कुनै अन्त्य होइन, बरु नयाँ सुरुवात हो, जहाँ अनुभव र सीपलाई सदुपयोग गरेर जीवनलाई अझ फलदायी बनाउन सकिन्छ ।