सहदेव बस्नेत
जाजरकोट, भदौ ८ गते । जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारित सूचकहरु पूरा भएपछि भेरी नगरपालिका– ९ मा शनिबार आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उक्त घोषणा प्रमाण पत्र वडा अध्यक्ष हीराप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले भेरी नगरपालिकाको बाल मैत्री नगरपालिका घोषणा अभियानअन्तर्गत यो घोषणा कार्यक्रम सम्पन्न भएको बताउनुभयो । भेरी नगरपालिकाले बालबालिकाहरुका लागि विभिन्न कार्यक्रम वडा वडामा सञ्चालन गर्दै नगरपालिका घोषणा गर्ने लक्ष्य राखेको बताउनुभयो ।
कार्यक्रम पाँच तारा युवा संरक्षण मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएकोमा वडालाई हार्दिक बधाई दिनुभएको थियो । वर्ल्ल्ड भिजन इन्टरनेशनल नेपालका ओम रानाले बालबालिकाहरुका लागि संवेदनशील हुँदै यो वडा घोषणासम्म पुग्नु निकै खुसीको कुरा भएको भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, राजनीतिक दल, शिक्षक, विद्यार्थी, आमा समूह, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, समाजसेवी स्थानीयहरुको सहभागिता थियो ।
वडाध्यक्ष हीराप्रसाद शर्माले यस घोषणा कार्यक्रमसम्म ल्याउनु हुने सबै सहयोगी निकायहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो । विशेष गरी वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।