यादवराज पुरी
रौतहट, भदौ ८ गते । चन्द्रपुर नगरपालिकाको पुरानो बजार क्षेत्रमा व्यापारीले फुटपाथ मिचेर पसल थापेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या परेको अवस्थामा पनि स्थानीय निकाय मौन छ ।
पालिकाको वडा नम्बर ५ र ६ को सीमानाकोरुपमा रहेको चन्द्रपुर–गौर सडकखण्डको चन्द्रनिगाहपुर पुरानो बजारका व्यापारीले सटर अगाडिको फुटपाथमै विविध किसिमका वस्तु बिक्रीका लागि सजाएर राख्दा पैदलयात्रीले निर्धारित बाटो प्रयोग गर्न पाएका छैनन् ।
व्यापारीले घरायसी सामान, प्लास्टिकका भाँडाकुँडा, ड्रम, डोका, बाल्टिनलगायतका सामान प्रदर्शन गर्न फुटपाथ प्रयोग गरेपछि पैदलयात्री सवारीसाधन चल्ने सडकमा हिँड्न बाध्य छन् । बजार घुम्दा वा किनमेल गर्दा बालबालिका, वृद्धवृद्धा वा महिला सबैलाई सवारीसँगै कालोपत्रेबाट हिँड्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम उच्च बनाएको छ ।
चन्द्रपुर–५ का युवा समाजसेवी विष्णु थापा भन्नुहुन्छ, “फुटपाथ सर्वसाधारणलाई सहज आवतजावत गराउनकै लागि निर्माण गरिएको हो । तर व्यापारीले त्यसलाई व्यावसायिक प्रयोगमा ल्याउँदा सर्वसाधारणको फुटपाथबाट हिड्ने हक हनन भएको छ । नगरवासीले पटक÷पटक नगरपालिका र सम्बन्धित वडा अध्यक्षको ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता गरेन । स्थानीय निकायको उदासीनताका कारण फुटपाथ अतिक्रमण गरी पसल थाप्न व्यापारी हौसिएका हुन् ।”
यता अतिक्रमणकारी व्यापारी भने बाध्यताले फुटपाथ प्रयोग गर्नुपरेको बताउँछन् । बजारका एक भाँडा पसलेले भन्नुभयो, “पसल सानो छ । सामान देखाएर राख्न पाएनौँ भने ग्राहक आउँदैनन् । ग्राहकलाई आकर्षण गर्नकै लागि पनि सामानको प्रदर्शन गर्न फुटपाथ प्रयोग गर्नु परेको छ । बजारका अन्य व्यापारीले फुटपाथमै सामान राख्न थालेपछि मैले पनि उनीहरुको सिको गरेको हुँ ।”
जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले फुटपाथ अतिक्रमण दुर्घटनाको कारक बन्न सक्छ भन्नुभयो । उहाँका अनुसार सडक नियमअनुसार विशेष परिस्थितिबाहेक पैदलयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने भए पनि व्यापारीको व्यवहारमा भने परिवर्तन नआएको देखियो ।
सडक व्यवस्थापन र नागरिक सुरक्षामा नगरपालिका उदासीन रहेको नगरवासीको आरोप छ । तत्काल फुटपाथ अतिक्रमण हटाई पैदलयाात्रीलाई सहजरुपमा हिँडडुल गर्ने वातावरण मिलाउन नगरवासीको माग छ । पालिकाको वडा नम्बर ५ र ६ का वडाध्यक्ष क्रमशः नीलहरि कोइराला र सहदेव केसीले फुटपाथ खाली गराउन पटक/पटक आग्रह गरेको बताउनुभयो । उहाँहरुका अनुसार केही दिन भनेको मान्छन् फेरि प्रयोग गरिहाल्छन् । अब कडा ‘एक्शन’ लिइन्छ ।
यस सम्बन्धमा पालिका प्रमुख सञ्जयकुमार काफ्ले भन्नुहुन्छ, “जनस्वास्थ्य, सरसफाइँ र ट्राफिक व्यवस्थापनको दृष्टिले समेत फुटपाथ अतिक्रमण गम्भीर समस्या हो ।’’ यस सम्बन्धमा अतिक्रमणकारी व्यापारीलाई पटक/पटक सचेत गराइएको तर अटेर गरेका कारण अब जरिवानासहितको कारबाही गरिने बताउनुभयो ।