विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ८ गते । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्वबन्धुत्व दिवस तथा राजयोगिनी प्रकारमणी दादीको १८औं पुण्यतिथिको अवसर पारेर अभियान सुरु गरेको छ । ‘रक्तदान गरौँ, जीवन बचाऔं’ नाराका साथ राजविराजस्थित सेवा केन्द्रले विशाल रक्तदान अभियान २०८२ सुरु गरेको हो ।
रगतको अभावले कसैले पनि ज्यान गुमाउनुनपरोस् भन्ने प्रमुख उद्देश्यका साथ विश्वभर छरिएर रहेका ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको ६ हजार केन्द्रमा एकै दिन रक्तदान कार्यक्रम सुरु भएको राजविराज केन्द्रका प्रमुख भगवती दिदीले जानकारी दिनुभयो ।
उहाँले विश्वभर विभिन्न रोगको सङ्क्रमणसँगै बिरामीको सङ्ख्या वृद्धि भइरहेकाले जस्तोसुकै अवस्थामा पनि रगतको अभाव हुन नदिने उद्देश्यले बृहत् साताव्यापी रक्तदान कार्यक्रम अभियानकै रुपमा सुरु गरिएको बताउनुभयो ।
“विश्वभर रहेका ६ हजार केन्द्रबाट एकैसाथ सुरु भएको रक्तदान कार्यक्रममा ठुलो सङ्ख्यामा रक्तदाता सहभागी हुने र यसले गिनिज वर्ल्ल्ड रेकर्डस कायम गर्ने केन्द्रको योजना छ’’ उहाँले भन्नुभयो ।
बृहत रक्तदान कार्यक्रममा राजविराजका समाजसेवी एवम् ज्येष्ठ नागरिक सङ्घ मधेश प्रदेशका अध्यक्ष शङ्कर सारदाले बिरामीले अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न समयमा आफूले एक सय १४ पटक रक्तदान गरिसकेको बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन प्रमोदकुमार यादव, दिनानाथ यादव, विमला महतो, ललिता साह, नन्दकिशोर गुप्ता र उमेश यादवसहित २५ जनाले रक्तदान गरेका छन् । उक्त अवसरमा जिल्लामा सर्वाधिक एक सय १४ पटक रक्तदान गर्ने राजविराज नगरपालिकाका पूर्वप्रमुख गोविन्द सिंह, समाजसेवी शभ्कर सारदासहित सबै रक्तदातालाई केन्द्रका प्रमुख सञ्चालिका भगवती दिदीले कदरपत्रबाट सम्मान गर्नुभयो ।