शेरबहादुर सार्की
बाजुरा, भदौ ८ गते । बाजुराका गाउँ बस्ती यतिबेला खाली हुँदै गएका छन् । साउनको महिना यहाँ सबै स्थानीय रोजगारी गर्नका लागि भारत जान थालेसँगै यहाँका गाउँबस्ती खाली भएका हुन् ।
असार खेती लगाएर साउन महिनामा भारतमा रोजगारी गर्नका लागि जाने यहाँकाे प्रचलन छ । त्यही प्रचलनका कारण अहिले यहाँका गाउँबस्ती खाली हुँदै गएको बूढीगङ्गा नगरपालिका – २ भानसिहं थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा प्रशस्त जमिन भए पनि त्यो जमिनमा अहिलेसम्म सिँचाइ सुविधा छैन । खेती लगाउँ भने सबै सुकेर जान्छ । परिश्रम गरे अनुसारको फल मिल्दैन । यहाँ भोकै बस्न सकिँदैन ।’’
आफू उच्च शिक्षा पढेको छु । तर गाउँमा रोजगारी पाइँदैन अन्य गरी खाने केही उपाय छैन । छोरा छोरीको पढाइ खर्च र आफ्नो भोको पेट पाल्नकै लागि भए पनि यतिबेला भारतमा रोजगारी गर्न जान लागेको थापाले बताउनुभयो ।
गाउँमा रोजगारीका अवसर नमिल्दा बाजुराका अधिकांश स्थानीयहरु असारमा खेती लगाएर साउन भदौमा सधैँ यसरी नै रोजगारी गर्न भारतमा जाने गर्छन् ।
कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।
यहाँका अधिकांश स्थानीय माघमा माघि चैत वैशाखमा वीसु र असोज कात्तिकमा दशैँ तिहार मनाउन मात्र गाउँमा फर्किने गर्दछन् ।
हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रशस्त जमिन छ । तर त्यो जमिनमा खेती गर्नका लागि सिँचाइ छैन ।
यो अवस्थालाई यहाँका स्थानीय सरकारले मध्यनजर गरिदिएको भए स्थानीयले यसरी गाउँ छोडेर अर्कोको देशमा काम गर्न जानुपर्ने अवस्था हुने थिएन ।
यता असोजदेखि कात्तिकसम्म गाउँमा परदेशीले भरिभराउ हुन्छ । त्यसपछि मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु गर्छन् ।
गाउँबस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले बढी छ । पहिला बाढीपहिरोले खासै त्यति असर गर्दैनथ्याे । अहिले जिल्लाका अधिकांश गाउँबस्ती पहिरोले तहसनहस पार्दै गएकाले अहिले यहाँका अधिकांश गाउँबस्ती रित्तिँदै गएका हुन् ।
जिल्लाका बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमूल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बूढीनन्दा नगरपालिका लगायतका अधिकांश गाउँबस्ती यतिबेला खाली भएका छन् ।
यहाँका स्थानीयको आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु असार खेती लगाए धमाधम भारतमा जान थालेपछि यती बेला यहाँका गाउँबस्ती खाली हुँदै गएको छ ।
गाउँका युवाहरुलाई गाउँमै गरी खाने व्यवस्था मिलाउँनका लागि यहाँका स्थानीय, प्रदेश र सङ्घीय केही गरेको छैन । यहाँका बेरोजगार युवालाई गाउँमै रोजगारी दिने गरी स्थानीय सरकारले पहल कदमी गर्दै आएको भए पनि यी गाउँ बस्तीका स्थानीय भारतमा जानुपर्ने थिएन ।
गाउँमा हुने गरेका विकास निर्माणका काममा पनि ठेक्का दिने र ठेकेदारले आफू अनुकूलका कामदार ल्याउने गरेकाले पनि धेरै युवा गाउँमा काम पाउँदैनन् । गाउँमा भएका काममा पनि डोजरको प्रयोग गर्नु र त्यसमा पनि अन्य ठाउँदेखि सस्तोमा काम गर्ने कामदार ल्याउँदा पनि यहाँका युवा सधैँ बेरोजगार बन्दै गएका हुन् ।
प्रधानमन्त्री स्वरोजगारको काम बाहेक अरु युवालाई दिन सक्ने काम केही छैन । त्यसमा पनि थोरैले काम पाउँछन् । गाउँमा धेरै हुन्छन् । काम थोरैले पाउँछन् ।
युवालाई गाउँमा रोक्न सक्ने त्यस्तो खालको रोजागारीको व्यवस्था गर्न नसकेकाले पछिल्लो समय यहाँका धेरै युवाहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –१ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।