पिताको सम्मान गर्ने कृष्ण र श्रवणकुमारलगायत हजारौँ वर्षदेखि पुजिँदै आए । पितालाई महìव नदिने, उनको वचन उल्लङ्घन गर्ने थुप्रैलाई कुपात्रका रूपमा समाजले बुझ्यो । उनीहरूसँग अन्य राम्रा गुण भए पनि समाजले सम्झन चाहेन ।
सनातन धर्मावलम्बी बहुल समाजमा भाद्र कृष्ण औँसी तिथिमा पिता अर्थात् बुबा (बावु) को सम्मान–सत्कार गर्ने परम्परा रहिआएको छ । पुराणादि ग्रन्थमा यसै दिन पिताको सम्मान गर्ने सन्दर्भ चाहिँ उल्लेख गरिएको देखिँदैन । पितृसँग सम्बन्धित तिथि भएकाले औँसीमा श्राद्ध आदि कर्म गर्ने विधान भने छ ।
पहिले पहिले नेवार समुदायमा प्रख्यात बावुको मुख हेर्ने चलन बिस्तारै अन्य समुदायमा पनि प्रचारप्रसार भई व्यापकता ग्रहण गरेको भन्न सकिन्छ ।
पिता टाढा रहनेका लागि भेटघाट गर्ने वा भेटेर सम्मान दर्शाउने दिनका रूपमा यस दिनको महìव नभएको होइन तर बावुको मुख हेर्ने दिन पश्चिमा समाजमा ‘फादर्स डे’ जस्तै यो दिन पनि विकसित भइरहेको छ । उपभोक्तावादी संस्कृति विकसित हुँदै गर्दा विशेषगरी उमेर पुगेका छोराछोरी भिन्नै बस्ने, आमाबावुलाई वास्ता नगर्ने तथा वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने परम्परा विकसित भइरहेको छ । हाम्रै समाजमा बावुको मुख हेर्न वर्षको एक दिन वृद्धाश्रममा पुग्ने गरेका मानिस देख्न सकिन्छ ।
सनातन संस्कृति अवलम्बन गर्ने हो भने पिता वर्ष दिनभरि पूजनीय हुन्छन्, दर्शनीय हुन्छन् । पिताले गरेको सानो गल्तीले उनको महिमा घट्दैन । किनभने जन्मदेखि लालनपालन गरेर व्यक्तिलाई यस अवस्थामा ल्याउनसम्म पिताको ठूलो भूमिका रहन्छ । पुराणमा केही यस्ता सन्तानको सन्दर्भ उल्लेख छ जो पितृभक्तिकै कारणले आदर्श बने । उनीहरूले आफू मात्र प्रख्यात भएनन् कुलकै ख्याति चलाए ।
महातपस्वी महर्षि जमदग्निका पाँच भाइ छोरा थिए । परीक्षा लिन एक दिन उनले आफ्ना पाँचै भाइ छोरालाई भने, “आमा (रेणुका) को हत्या गर !” मातृमोहले ऋषिपुत्रहरूलाई किन त्यसो गर्न दिन्थ्यो ! सुन्नेबित्तिकै चार छोरा एक एक गरी पछि हटे तर कान्छा छोरा परशुरामले पिताको आदेश पाउनेबित्तिकै आमालाई काटिदिए । उनलाई आफ्नो बावुको शक्तिमाथि विश्वास थियो ।
आफ्नो वचन खेर जान नदिने छोराबाट प्रसन्न भएर जमदग्निले ‘वर माग्न’ भने । परशुरामले आमालाई बचाइदिन आग्रह गरे । जमदग्निले गर्न नसक्ने केही थिएन । तत्काल रेणुकालाई पुनः जीवन दिए । आमालाई बचाइमाग्ने बेलामा परशुरामले अर्को वर मागेका थिए, “मातृहत्या जस्तो जघन्य अपराध गरेको आफूलाई सम्झना नरहोस् ।”
रामचन्द्र, रघुकुलका ज्योति । भगवान् विष्णुका सातौँ अवतार । सनातन समाजले मर्यादापुरुषको दर्जा दिएका अंशावतार । अयोध्याका राजा दशरथ जब जीवनको उत्तरार्धमा पुगे र जेठा छोरा रामलाई गद्दी सुम्पने मनस्थितिमा पुगे । माइली रानी कैकेयीले आफ्ना छोरा भरतलाई राजा बनाउने रणनीति बनाउन थालिन् । यसै बखत उनलाई सम्झना भयो । राजाले एउटा वचन उनीसँग उधारो राखेका थिए । त्यही उधारो यसबेला काम लाग्दै थियो । राजालाई वचनको सम्झना गराइन् । वचन त्यो पनि प्रिय रानीको । पूरा नगर्ने कुरै थिएन । कैकेयीले अड्को यसरी थापिन्, राजा हुन लागेका सौताका छोरा रामलाई १४ वर्षको वनबास, आफ्ना छोरालाई अयोध्याको राज ।
नीतिले यो कुरा अनुचित थियो । तैपनि वचन पूरा गर्नु थियो । रामले विद्रोह गर्लान् भन्ने चिन्ता पनि नभएको होइन । मुटुमाथि ढुङ्गा राखेर दशरथले राजसभाबाट घोषणा गरे । रामको मुहारमा रत्तिभर क्लेश देखिएन । पिताको आज्ञा शिरोपर गर्दै उनी १४ वर्ष वनबास जान राजी भए ।
विशाल हस्तिनापुर राज्यका उत्तराधिकारी, देवव्रत । छोराको बिहेबारी गरिदिनुपर्ने बेलामा पिता सन्तनु सत्यवतीसँग मोहित भए । आफ्नी छोरीको सन्तान राज्यका उत्तराधिकारी बनाउने भए मात्र कन्यादान गर्ने सत्यवतीका पिताले अडान राखे । सन्तनु आफ्ना छोरासँग त्यो कुरा गर्न सक्दैनथे भने लोकका लागि त्यो स्वीकार्य थिएन ।
प्रेमपासले उनी चिन्तित भए तर बुद्धिमान् देवव्रतले पिताको चिन्ताको कारण बुझी उनका लागि सत्यवतीको हात माग्न गए । पिताको सुखका लागि उनी राजगद्दी त्याग्न तयार भए तर देवव्रतले विवाह गरेपछि जन्मेका सन्तानले राज्य छिन्न सक्ने सत्यवतीका पिताको आशङ्कापछि देवव्रतले आजीवन विवाह नगरी बस्ने प्रतिज्ञा गरे । पिताप्रतिको उनको यो महान् कदमलाई ‘भीष्मप्रतिज्ञा’ भनिन्छ ।
हो यी पात्रसँग पिताले स्वार्थी भएर पुत्रलाई अन्याय गरे तर पुत्रले आफ्नो कर्तव्य भुलेनन् । पितृ आज्ञालाई सहजै लिए । उनीहरूले त्यस प्रकारको शिक्षा पाएका थिए र त उनीहरू स्वार्थमा फसेनन् । सानाठूला स्वार्थबीच पनि पिता महान् हुन्छन् भन्ने शिक्षा हो यो ।
राम पिताको आज्ञा उल्लङ्घन गरेर वनबास नगई विद्रोह गरेर राजा भएका भए पुजिन्थे ? पिताको स्वार्थभन्दा आफ्नो स्वार्थलाई माथि राखेका भए देवव्रत भीष्म हुन्थे ? पिताको आज्ञा शिरोपर नगरेका भए परशुराम पनि अरू चार भाइको लहरको अन्तिममा कान्छा भाइ वा जमदग्निका कान्छा छोराका रूपमा मात्र रहन्थे । उनको यति ख्याति हुँदैनथ्यो ।
यति मात्र होइन कंसको कालकोठरीमा रहेका आफ्ना मातापितालाई मुक्त गराउन कृष्णले अनेकौँ दुःख झेले । वृद्ध आमाबावुलाई काँधमा बोकेर तीर्थस्थल भ्रमण गराउने श्रवणकुमारको ख्याति हामीले पढेका, सुनेका छौँ । पिताको सम्मान गर्ने कृष्ण र श्रवणकुमारलगायत हजारौँ वर्षदेखि पुजिँदै आए । पितालाई महत्व नदिने, उनको वचन उल्लङ्घन गर्ने थुप्रैलाई कुपात्रका रूपमा समाजले बुझ्यो । उनीहरूसँग अन्य राम्रा गुण भए पनि समाजले सम्झन चाहेन ।
रावण कम विद्वान् थिएनन् । विश्रवा ऋषिका पुत्र थिए तर उनले पिताको विद्यालाई भन्दा मावलीको राक्षसी विद्यालाई साधन बनाए र पतन भए । राज्यका लागि कंसले पिता उग्रसेनलाई कारागारमा हाले र दुव्र्यवहार गरे । अन्ततः उनको पतन भयो । यस धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने पितालाई अपमानित गर्नेको कहिल्यै भलो हुँदैन । त्यसैले सनातन धर्मको निर्देश छ, पितृदेवो भव । अर्थात् पितालाई देवतासरह मान ।
–युवामञ्च