पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, भदौ ८ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै प्रदेशवासीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख मगरले जारी गर्नुभएको शुभकामना सन्देशमा लुम्बिनी प्रदेशको सांस्कृतिक विविधताको महत्त्वमाथि जोड दिँदै यहाँका विभिन्न समुदायको आफ्नै भाषा, लिपि, संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ । विशेषगरी, उहाँले थारु समुदायको ऐतिहासिक पहिचान र योगदानको प्रशंसा गर्दै उनीहरूको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
उहाँले सामाजिक न्यायको सिद्धान्तबमोजिम सबै समुदायको हक र अधिकारको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको कुरा जनाउनुभएको छ । साथै, थारु समुदायको भाषा, भेषभुषा, संस्कृति र परम्परालाई मान्यता दिने कानुन निर्माण गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
सभामुख मगरले विविधतामा एकता नै राष्ट्रको शक्ति भएको कुरामा जोड दिँदै सबै समुदायबीच सद्भाव, सहअस्तित्व र पारस्परिक सम्मानको भावनालाई बढावा दिन आग्रह गर्नुभएको छ । उहाँले यो पर्वले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै पुनः एकपटक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।