• ८ भदौ २०८२, आइतबार

संस्थागत मूल्याङ्कनमा जुम्लाको कनकासुन्दरी प्रथम र तातोपानी दोस्रो

blog

नौरते नेपाली
सिँजा (जुम्ला), भदौ ८ गते ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नजिता सार्वजनिक गरेको छ । गाउँपालिका तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीकोे लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, अधावधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गरी सेवा विकास तथा सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले पालिकाको संस्थागत क्षामता स्वमूल्याङ्कन गर्दै आएको छ ।

जसनुसार शुक्रबार मन्त्रालयले देशभरका स्थानीय तहको आर्थिक वर्ष २०८०/०८१ लिजाअन्तर्गत गुणस्तर परीक्षणको अन्तिम नजिता सार्वजनिक गरेको हो । सार्वजनिक नतिजानुसार जुम्लाका आठ स्थानीयतह मध्य कनकासुन्दरी गाउँपालिका सबैभन्दा बढी अङ्क ल्याएर प्रथम भएको छ । मूल्याङ्कनका १० वटा सूचकमा उत्कृष्ट ९२ अङ्क प्राप्त गरि कनकासुन्दरी संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा प्रथम भएको छ । त्यसैगरी तातोपानी गाउँपालिका भने दोस्रो भएको छ ।

जिल्लामै उत्कृष्ट कार्यसम्पादन गरिरहेको तातोपानी ८०.७५ अङ्क ल्याएर दोस्रो भएको हो । तातोपानी करार कार्यसम्पादन सम्झौता, जेठ अन्तिममै अन्तिम भुक्तानी सक्ने, वडा वडामा योजना सम्झौता गर्ने जुम्लाकै पहिलो पालिका हो । यदपी प्रक्रियागत रुपमा लिजाको नतिजा सधैँ दोस्रो हुने गरेको छ । साथै हिमा गाउँपालिका ७५.५० अङ्क ल्याएर तेस्रो हुन सफल भएको छ । जबकि जिल्लामै खानेपानी विकासमा फड्को मारेको हिमाले तेस्रो स्थान पक्का गरेको छ । हिमा पनि सुशासन र पारदर्शितामा अब्बल पालिका हो ।

भने त्यसैगरी जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाले ७४.५० अङ्क ल्याएको छ । गुठिचौर गाउँपालिकाले ६०.५० अङ्क, तिला गाउँपालिकाले ६६.२५ अङ्क, पातारासी गाउँपालिकाले ६३.५० अङ्क, सिंजा गाउँपालिकाले ६७.७५ अङ्क ल्याएका छन् । लिजा मूल्याङ्कनका लागि मन्त्रालयले १० वटा सूचक तय गरेको हुन्छ ।

जसमा प्रशासकीय प्रबन्ध, सङ्गठन तथा प्रबन्ध, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, सेवा प्रवाह रहेका छन् । त्यस्तै न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा सूचकका आधारमा जसले अब्बल काम गरेको हुन्छ सोहिनुसार अङ्क दिने प्रावधान छ । पूर्वाधार विकास तर्फ कनकासुन्दरीले ७.५० अङ्क पाउँदा तातोपानीले भने ९.५० अङ्क र चन्दननाथले १०.५० अङ्क ल्याएका छन् ।

उता कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले जिल्लाका आठ पालिकामा लिजाको नतिजामा प्रथम हुँदा खुसी व्यक्त गर्नुभयो । लिजाको नतिजाले कनकासुन्दरीलाई थप जनतामुखी काम गर्नुपर्ने, सुशसान,पारदर्शीता र सेवा प्रवाह तथा विकास निर्माण जिम्मेवारी पूर्ण रुपमा काम गनुपर्ने चुनौती थपिएको अध्यक्ष आर्चायको भनाइ छ ।

लिजाको अङ्कमा तलमाथि भएपनि विकास र सेवा प्रवाहमा तातोपानी सधै गम्भीर रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार कार्यसम्पादन मूल्याङ्कनमा तातोपानी सधै प्रथम आउने गरेको समेत दाबी गर्नुभयो ।