• ८ भदौ २०८२, आइतबार

हामखोला झरनामा झुमे पर्यटक

blog

मर्स्याङ्दी–८ भुलभुलेको हामखोला झरनामा भएको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिँदै गायक चिज गुरुङ र मञ्जु विक । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, भदौ ८ गते ।
गर्मी मौसम । छङछङ झरेको झरना । पानीमा खेल्न र सेल्फी लिन युवायुवती भिड नहुने त कुरै भएन । त्यसमाथि दुई दिनसम्म भएको साँस्कृतिक कार्यक्रमले लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लाग्यो ।

विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने हामखोलामा शुक्रबार र शनिबार भएको पाँचौ हामखोला महोत्सवले पर्यटकहरुलाई मन्त्रमुग्ध बनायो । सदरमुकाम बेसीसहरबाट यातायातमा २० मिनेटमा पुगिने यस झरना जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सडक पहुँचका कारण आजभोली दैनिक डेढ सयदेखि दुई सयसम्म आन्तरिक तथा बाह्य पर्यटक हामखोला झरनामा मनोरञ्जन लिन पुग्ने गरेका छन् ।

पर्यटकको रोजाइमा परेको यस झरनाको थप प्रचारप्रसार गर्नका लागि महोत्सव गरिएको आयोजक हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अशोक वाइवाले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आयोजित महोत्सवमा चर्चित लोकदोहोरी गायक चिज गुरुङ, मञ्जु विक, प्रितम गुरुङ लगायतका कलाकारका साथै ‘स्क्र्याच जर्नी’ ब्याण्ड, स्थानीय कलाकार, आमा समूह, क्लब, विद्यालय र होमस्टेहरूको प्रस्तुति रहेको थियो । महोत्सवमा स्थानीय उत्पादन, संस्कृति र परम्परालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।

हामखोला झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले सडकबाट झरनासम्म पुग्ने सिँढी, फलामे पुल, बार, बस्ने ठाउँलगायतका पूर्वाधार निर्माण गरेको छ । गाउँपालिकाले पर्यटनलाई मुख्य आर्थिक आधार बनाउने लक्ष्यअनुसार आगामी दिनमा पनि थप संरचना निमार्ण गर्ने जनाएको छ । महोत्सवले गाउँपालिकासँगै सिङ्गो जिल्लाको पर्यटन प्रवर्धनमा सघाउ पुगेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले महोत्सवको माध्यमबाट हामखोला झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न टेवा पुगेको बताउनुभयो । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले दुई पालिका मिलेर पर्यटन क्षेत्रको विकासमा लागि पर्ने बताउनुभयो । पालिकाको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रलाई बनाउन दुई पालिकाले संयुक्त रुपमा काम गरिरहेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले पर्यटन क्षेत्रको विकासबाट सम्वृद्धि हाँसिल गर्न सकिने बताउनुभयो ।