मकवानपुर समाचारदाता
मकवानपुर, भदौ ८ गते । भारतीय सर्कसमा काम गर्न पुगेकी हेटौँडाकी सुकुमाया लामालाई लामो सङ्घर्षपछि नागरिकता प्राप्त भएको छ । हेटौँडा उपमहानगरपालिका–१० मा जन्मेकी र आमाबुवा दुवैको नेपाली नागरिकता भए पनि सुकुमाया नागरिकताबाट वञ्चित हुँदै आउनुभएको थियो । विदेशीसँग विवाह गरेका कारण देखाएर सुकुमाया नेपाली नागरिकताको प्रमाणपत्रबाट वञ्चित हुँदा पहिचानविहीन बन्नुभएको थियो । संवैधानिक इजलासले सुकुमायालाई नागरिकता दिन आदेश दिएसँगै ५० वर्षीय सुकुमायालाई वंशजको आधारमा नेपाली नागरिकता पाउने बाटो खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी नागरिकता शुक्रबार पाउनुभएसँगै अब सुकुमायाको नेपाली नागरिकको पहिचान स्थापित भएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) मार्फत अदालतमा मुद्दाका लागि पुग्नुभएका सुकुमायाले ११ वर्षको कानुनी लडाईंपछि संवैधानिक इजलाशले सुकुमायालाई नागरिकता दिन गत जेठ १४ गते आदेश दिएको थियो ।
भारतस्थित सर्कसमा काम गर्ने व्रmममा सुकुमाया एक भारतीय पुरुषसँग विवाह बन्धनमा बाँधिनुभएको थियो । उहाँका दुई छोरी र एक छोरा भए । पतिको निधन भएपछि उहाँ पुनः नेपाल फर्कनुभयो । पहिचान र नागरिकताका लागि वडा कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा चहार्दा पनि नागरिकता बन्ने अवस्था नभएपछि उहाँ अदालतको ढोका ढकढक्याउन पुग्नुभएको थियो । एफडब्लुएलडीका तर्फबाट नागरिकताका लागि सहजीकरण गर्नुभएकी अधिवक्ता ललिता श्रेष्ठ विदेशीसँग विवाह गरेका कारण देखाएर विभेद गर्दै नागरिकताबाट लामो समय वञ्चित गर्ने काम भएको बताउनुहुन्छ । उहाँले करिब १२ वर्षको उमेरमा सर्कसमा गएर सुकुमाया नेपाल फर्किएपछि सुरुको दुई वर्ष वडा कार्यालयलगायतका कार्यालयमा धाउँदा धाउँदा नभएपछि अन्ततः अदालत जानुपर्ने अवस्था आएको बताउनुभयो ।
“बाबुआमा दुवैको नेपाली नागरिकता थियो तर विदेशीसँग विवाह गरेको देखाएर नागरिकता दिन अस्वीकार गरियो,” अधिवक्ता श्रेष्ठले भन्नुभयो, “कानुन र विकास मञ्च (एफडब्लुएलडी) मार्फत अदालतमा मुद्दाका लागि पुग्नुभएकी सुकुमायाले ११ वर्षको कानुनी लडाइँपछि अब संवैधानिक इजलासको आदेशसँगै नागरिकता पाउनुभएको छ ।