• ८ भदौ २०८२, आइतबार

लामाबगर नाका खुलाउन माग

blog

नेपालतर्फको निर्माणाधीन सडक र नेपाल–चीन सिमानामा चिनियाँ पक्षले निर्माण गरेको झोलुङ्गे पुल ।

दोलखा समाचारदाता

दोलखा, भदौ ८ गते  । चीनसँगको व्यापारका लागि निकै महìव रहेको लामाबगर नाका खुलाउनुपर्ने माग स्थानीयले राखेका छन् । 

कुनै दिन रसुवागढी तथा तातोपानी नाका सञ्चालनमा आउनुअघि नै सञ्चालित लामाबगर नाका पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग रहेको बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार केही दिनअघि चिनियाँ क्षेत्रमा आएको बाढीले रसुवागढी नाकामा क्षति भएपछि चीनसँगको व्यापारका लागि राजधानीको नजिकको नाका लामाबगर हुन सक्ने देखिएको छ । 

चिनियाँ क्षेत्रबाट ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढीको मितेरी पुलसहित सडक, भन्सार, प्रहरी चौकी, जलविद्युत् आयोजनालगायतमा ठुलो क्षति भएर सञ्चालन नहुँदा पनि लामाबगर नाका खुल्नुपर्ने देखिएको छ । बर्सातको समयमा सिन्धुपाल्चोकको तातोपानी नाका पनि बाढीपहिरोका कारण हरेक वर्ष बन्द हुने खुल्ने गर्दै जोखिमपूर्ण यात्रा गर्दा चीनसँगको व्यापारसमेत प्रभावित हुँदै आइरहेको छ । 

हरेक वर्ष रसुवागढी र तातोपानी बाढी र पहिरोको जोखिम हुन थालेपछि विकल्पका रूपमा लामाबगर नाकालाई पनि प्रयोगमा ल्याउनुपर्ने प्रतिनिधि सभाका सांसद गङ्गा कार्कीले बताउनुभयो । सिमानानजिकसम्म निजी क्षेत्रका जलविद्युत् आयोजनाले सडक ट्र्याक खोलेसँगै सिमानामा आवतजावतका लागि सहज भएको छ । राजधानी काठमाडौँको नजिकको तेस्रो विकल्पका रूपमा लामाबगरलाई प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक चुनावमा लामाबगर नाका चुनावी नारा नै बनायौँ, अहिले चिनियाँ पक्षले नाका पनि खुला गरेको छ । अब पूर्वाधार विकास गरेर चीनसँग कूटनीतिक पहल गरेर व्यापारिक रूपमा र पर्यटक भिœयाउन पहल गर्नु पर्छ ।” 

नेपाल–चीन सिमानाको ६० र ६१ नम्बर पिलर ङ्याङलुङ पर्छ । यसको करिब डेढ किलोमिटरनजिकसम्म नेपालतिरबाट केही समयअघि सडक ट्र्याक खुलेको छ । सानिमाजुम जलविद्युत् आयोजनाको बाँध स्थलभन्दा माथिल्लो क्षेत्र खोलाको बगर भएकाले सरकारले चाहे सडक बनाउन अप्ठ्यारो नभएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । 

त्यहाँदेखि सिमानासम्मको डेढ किलोमिटर गोरेटो परम्परागत भए पनि वर्षौंदेखि आवतजावत नहुँदा बिग्रेकोमा अहिले बिगु गाउँपालिकाले गत जेठमा गोरेटोसमेत मर्मत गरेको छ । दोलखा जिल्लाको सुरक्षा निकाय र तिब्बतको टिङ्ग्री कान्टीका अधिकारीबिच तीन महिनाअघि दुवै देशका स्थानीय जिल्लाका सिमाना बैठक रोङसियामा भएको थियो । 

नेपालका तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, बिगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीसहित सुरक्षा प्रमुखहरू यही नाका हुँदै पहिलो पटक रोङसिया पुगेका थिए । अर्को बैठक लामाबगरमै गर्ने तयारी भएको छ । बिगु गाउँपालिका वडा नम्बर १ को ङ्याङलुङ र लप्चीबाट चीनसँग दुई वटा नाका छन् । लप्चीवासीको तिब्बतको स्थानीय बजारमा आवतजावत गर्ने नाका हो । ङ्याङलुङ २०२२ सालमा तातोपानी खुल्नुअघि काठमाडौँ र तिब्बतको परम्परागत नाका हो । चिनियाँ पक्षले नेपालसँगको १४ वटा नाका खोल्दा एक वर्षअघि ङ्याङलुङबाट रोङसिया खुला गरेको छ । 

अहिले चिनियाँ पक्षका स्थानीय प्रशासनिक टोली पनि आउने इच्छा गरेका छन् । उनीहरू आउन सहज होस् भनेरै गोरेटो मर्मत गरिरहेको पालिका अध्यक्ष ओलीले बताउनुभयो । 

चिनियाँ भूगोलमा टिङ्ग्री काउटी सहरदेखि रोङसियासम्म ९० किलोमिटर ठुलो सडक छ । रोङसियादेखि नेपालको सिमानासम्म २० किलोमिटर पक्की सडक छ भने सीमानजिकसम्म ट्र्याक खोले पनि पहिरो गएकाले मर्मत हुन बाँकी छ । चिनियाँ पक्षले रोङसियामा व्यापारका लागि भन्सारलगायतका संरचना तयार गरेको छ । अहिले चिनियाँ पक्षले लामाबगरमा कहिले संरचना बन्छ भन्ने जिज्ञासा राख्ने गरेको पालिका अध्यक्ष सञ्जीव ओलीले बताउनुभयो ।