• ८ भदौ २०८२, आइतबार

बर्का अट्वारी पर्वको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त

blog

रमेश विश्वकर्मा
गुल्मी, भदौ ८ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको महान् चाड बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । थारु समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

‘‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘प्रदेशभित्र रहेका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धनप्रति प्रतिबद्धता छ ।’’

उहाँले नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको बताउनुभयो । त्यसैअन्तर्गत थारु समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्वपूर्ण रूपमा स्थापित भएको उहाँको भनाइ छ ।

बर्का अट्वारी पर्वमा विशेष गरी थारु पुरुषहरूले उपवास बस्ने, निराहार ब्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ । थारु समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन् । यस पर्वले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको दिएको छ । प्रदेश सरकारले मौलिक कला, धर्म र संस्कृतिको संरक्षण र प्रवर्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै उहाँले यसले पर्यटन विकासमा समेत योगदान पुर्‍याउने बताउनुभयो ।