गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको आधिकारिक तथ्याङ्क सङ्कलन गर्न मुलुकभर कृषि सर्वेक्षण गरिरहेको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रको भरपर्दो र पारदर्शी तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पहिलो पटक मुलुकभर कृषि सर्वेक्षण गरिएको हो । हाल पाँच वटा प्रदेशमा कृषि सर्वेक्षणको काम भइरहेको मन्त्रालयले जनाएको छ । सङ्घीय कृषि मन्त्रालयले प्रदेशको कृषि मन्त्रालयको समन्वयमा कृषि सर्वेक्षण गर्न लागेको हो । मन्त्रालयले सुपरिवेक्षणलाई तालिम दिने र सुपरिवेक्षणले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ । गणकले किसानसँग पुगेर कृषि सर्वेक्षण गर्ने काम गरिरहेका छन् ।
मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले कृषिको आधिकारिक तथ्याङ्क सङ्कलन गर्न कृषि सर्र्वेक्षणको काम भइरहेको जानकारी दिनुभयो । किसानको घरदैलामा गएर स्थानीय तहका कृषि प्राविधिकले प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । कृषिमा कृषकको पहुँच, मलबिउको प्रयोग, मूल्य भण्डारणको संरचना, सिचाइँको प्रयोग, प्रविधिको प्रयोग, वित्तीय पहुँच, कृषि सेवा पहुँच, बिमा, कृषि पशुको उत्पादनको अवस्थालगायतका विषयमा सर्वेक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ । आगामी पुसभित्र सर्वेक्षणको काम पूरा गर्ने मन्त्रालयको तयारी छ ।