गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ८ गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सबैभन्दा बढी ९३.५ अङ्क हासिल गर्दै धादिङको नीलकण्ठ नगरपालिका पहिलो भएको छ । त्यस्तै चितवनको खैरहनी नगरपालिकाले ९२.७५ अङ्क हासिल गरी द्वितीय र धादिङकै बेनीघाट रोराङ गाउँपालिकाले ९१.७५ अङ्क हासिल गरी तृतीय भएका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा सबैभन्दा बढी अङ्क हासिल गर्ने १० स्थानीय तहलाई मन्त्रालयले शुक्रबार उत्कृष्ट गाउँपालिका र नगरपालिकाका रूपमा घोषणा गर्दै ती गाउँपालिकालाई सम्मान गरेको छ ।
त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ९१.२५ अङ्क हासिल गर्दै चौथो, रुपन्देहीकै देवदह नगरपालिकाले ९०.७५ अङ्क हासिल गरी पाँचौँ, इलामको सूर्योदय नगरपालिका ९०.५० अङ्क हासिल गरी छैटौँ, इलामकै इलाम नगरपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ९० अङ्क हासिल गरी सातौँ भएको मन्त्रालयले घोषणा गरेको छ ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले ८९.७५ आठौँ, चितवनको रत्ननगर नगरपालिकाले ८९ अङ्क हासिल गरी नवौँ, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ८८.७५ र पाल्पाको तानसेन नगरपालिकाले ८८.७५ नै अङ्क हासिल गरी १० औँ भएका छन् ।
स्थानीय तहको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादनका क्षेत्रलाई विषयगत क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको थियो । उत्कृष्ट घोषणा भएका स्थानीय तहलाई बधाई दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आगामी दिनमा अन्य स्थानीय तहलाई पनि प्रतिस्पर्धामा आउने गरी काम गर्न आग्रह गर्नुभयो ।