• ७ भदौ २०८२, शनिबार

भाद्रकृष्ण औँसीः सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

blog

काठमाडौँ, भदौ ७ गते । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएका छन् ।

शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । 

मनाइयो पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीले आज परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरी बाबुको मुख हेरेका छन् । बाबु नहुनेले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।

आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।   

 मन्दिर क्षेत्रमा अहिले पनि भक्तजनको लाम लागिरहेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीको मेलामा पनि लाखौँ भक्तजनले दिवंगत पितृप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।    

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । 

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको उहाँले उल्लेख गर्नुभयो । रासस