• ७ भदौ २०८२, शनिबार

पाकिस्तानमा बाढीको कहरः ब्युनर र स्वातमा विनाशकारी प्रभाव

blog

इस्लामाबाद, भदौ ७ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको तेज बाढीले जनजीवनमा भयावह असर पुर्याएको छ । इस्लामिक राहत संस्थाले गरेको अध्ययन अनुसार, यी क्षेत्रका करिब ६० प्रतिशत परिवारले आफ्नो जीविकोपार्जन गुमाएका छन् भने घर, खेतीयोग्य जमिन र पशुपन्छीमा पनि व्यापक क्षति पुगेको छ ।

इस्लामिक राहत संस्थाको आपतकालीन टोलीले प्रभावित क्षेत्रका मानिसहरूलाई खाद्यान्न र पिउने पानी वितरण गर्दै छ । प्राप्त विवरणअनुसार, ७३ प्रतिशत घर पूर्णरूपमा ध्वस्त वा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । ब्युनर जिल्लामा ६० प्रतिशत र स्वात जिल्लामा ५३ प्रतिशत मानिसहरूले आफ्नो परिवार पालनपोषण गर्न असमर्थ भएका छन् । साथै, ब्युनरमा ८० प्रतिशत खेतीयोग्य जमिन बाढीले नष्ट भएको छ भने करिब आधा पशुपन्छी मरेका छन् ।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ । बाढीपछि दूषित पानी र मृत पशुपन्छीका कारण पानीजन्य रोग फैलिएका छन् । अध्ययनले देखाएको छ कि ४० प्रतिशत घरधुरीमा पेटका रोग देखा परेको छ । सरसफाइको अवस्था अत्यन्त खराब छ र यसले स्थिति झन् जटिल बनाएको छ । इस्लामिक राहत संस्थाका कार्यवाहक निर्देशक रजा नरेजोले बताउनुभयो, “बाढीको पानी घट्दै गए पनि यसको प्रभाव दीर्घकालीन हुने छ । सर्वाधिक प्रभावित क्षेत्रका मानिसका रोजगारी र आम्दानी स्रोत लगभग एकै छिनमा नष्ट भएका छन् । ब्युनर जिल्लाका ६० प्रतिशत कामदारहरूले आफ्नो जीविकोपार्जन गुमाइसकेका छन् ।”

त्यसै गरी, पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले आगामी दिनमा देशका विभिन्न भागमा भारी वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ । विशेष गरी गिलगिट–बाल्टिस्तान र खैबर पख्तुनख्वा क्षेत्रमा छिटफुट वर्षा र गडगडाहट सहितको आँधी आउने सम्भावना छ । यसका कारण बाढी, पहिरो र हिमताल फुट्ने जोखिम रहेका जिल्लामा सतर्कता अपनाउन भनिएको छ । 

प्रभावित जिल्लामा चितवन, डिर, स्वात, शाङ्ग्ला, मनसेहरा, बत्तग्राम, एबटाबाद, मलाकण्ड, पेशावर, चरसड्डा, नौशेरा, मरदान, टाङ्क, बन्नु र लक्की मरवात पर्छन् । सरकार र स्थानीय निकायले उच्च सतर्कता अपनाइरहेको भएपनि आगामी दिनमा स्थिति अझ जटिल बन्न सक्ने सम्भावना रहेको छ । जनजीवन र क्षतिपूर्ति पुनः स्थापनाका लागि व्यापक सहयोग र तत्काल राहत आवश्यक छ । रासस/एएनआई