नयाँ दिल्ली, भदौ ७ गते । भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिनुभएको छ ।
सिंहले यसअघि गत मे महिनामा भारतले विकास गर्न लागेको पाँचौं पुस्ताको ‘एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट’ (एएमसीए) को प्रोटोटाइप स्वीकृत गर्नुभएको थियो । उहाँले त्यसलाई ‘भारतको आत्मनिर्भर रक्षा क्षमतातर्फको महत्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गर्नुभएको थियो ।
शुक्रबार नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै मन्त्री सिंहले लडाकु विमान इन्जिनको स्वदेशी निर्माण सम्बन्धी थप विवरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “हामी भारतमै लडाकु विमानका इन्जिन उत्पादन गर्न अगाडि बढिरहेका छौं । यसका लागि फ्रान्सेली कम्पनीसँग सहकार्य भइरहेको छ ।”
यद्यपि मन्त्री सिंहले कम्पनीको नाम खुलाउनु भएन, तर भारतीय सञ्चार माध्यमले यो कम्पनी सफ्रान भएको उल्लेख गरेका छन् । सफ्रान फ्रान्सको एक प्रमुख एयरोस्पेस र रक्षा कम्पनी हो, जसले विगत धेरै वर्षदेखि भारतमा विभिन्न परियोजनामा काम गर्दै आएको छ । तर अहिलेसम्म यो सहकार्यको औपचारिक पुष्टि भएको छैन ।
भारत, जुन विश्वकै ठूलो हतियार आयातकर्ता मध्ये एक हो, आफ्ना सुरक्षाफौजको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यसै सन्दर्भमा स्वदेशमै हतियार तथा रक्षा उपकरण उत्पादनमा जोड दिँदै आएको छ । पछिल्लो समय भारतले पश्चिमी मुलुकसँग सैन्य सहकार्य बलियो बनाउँदै आएको छ, जसमा अमेरिका, जापान र अष्ट्रेलियासँगको क्वाड गठबन्धन पनि पर्छ ।
यसै वर्षको अप्रिलमा भारतले फ्रान्सको दसोल्ट एभिएसनसँग २६ वटा रफाल लडाकु विमान खरिद गर्न बहु–अर्ब डलरको सम्झौता गरेको थियो । यसले भारतले पहिले नै खरिद गरेका ३६ वटा रफाल विमानमा थपिनेछ र रूसी मिग-२९के विमानहरूको स्थान लिनेछ । रक्षा मन्त्री सिंहले सन् २०३३ सम्म भित्र्याइने स्वदेशी रक्षा सामग्री खरीदका लागि कम्तीमा १०० अर्ब अमेरिकी डलर बराबरको नयाँ सम्झौता गरिने वाचा पनि गर्नु भएको छ । हालैका वर्षमा भारतले ठूलो हेलिकप्टर कारखाना सञ्चालनमा ल्याउनुका साथै, पहिलो स्वदेशी विमानवाहक जहाज, युद्धपोत र पनडुब्बी निर्माण सम्पन्न गरेको छ ।
साथै, लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरेको छ । भारतको सुरक्षा दृष्टिकोणमा पाकिस्तान प्रमुख चुनौतीको रूपमा रहेको बताइन्छ । पछिल्लो मे महिनामा भारत र पाकिस्तानबिच सन् १९९९ यता कै सबैभन्दा तनावपूर्ण चारदिने सैन्य झडप भएको थियो । रासस/एएफपी