• ७ भदौ २०८२, शनिबार

दुई बुँदे सहमतिपछि राजविराजमा लालपुर्जा माग्दै गरिएको आन्दोलन स्थगित

blog

कार्यवाहक नगर प्रमुख परविन र सङ्घर्ष समितिबिच छलफल हुँदै । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी) भदौ ७ गते ।
लालपुर्जाको मागसहित आन्दोलनको घोषणा गरेका राजविराज नगरवासी पीडित सङ्घर्ष समिति र राजविराज नगरपालिका कार्यालय शुक्रबार बिच दुई बँदे सहमति भएको छ ।

राजविराज नगरपालिका र सङ्घर्ष समितिबिच दुई बुँदे लिखित सहमति भएपछि भदौ ७ गतेदेखि घोषणा गरिएको आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित भएको हो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, योजना अधिकृत मनोज यादव, नगरपालिकाका कानुनी सल्लाहाकार शिव कुमार चौधरी, सङ्घर्ष समितीका संयोजक इरसाद अन्सारी, प्रवक्ता अनिल देव, श्याम शर्मालगायतका पदाधिकारी तथा नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको उपस्थितिमा भएको सहमतिमा विगतमा राजविराजको बिटौरी तथा ब्लकका जग्गा मालपोत कार्यालयमा लेखत पारित हुने, अदालतबाट हकहस्तान्तरण हुने तथा आर्थिक समस्यामा परेका बेला बैँक तथा वित्तीय संस्थामा सोही जग्गा धितो राखी ऋण कर्जा समेत पाउने गरेकोमा हाल सो सेवा सुविधा रोकिएकाले लालपुर्जाका लागि नगरकार्यपालिकाको निर्णयबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस पत्र पठाउने गरिएको छ ।

राजविराज नगरपालिका स्थापना कालदेखि नै बसोवास, भोगचलन र व्यापार व्यवसाय गर्दै आएका नगरवासी अहिलेसम्म लालपुर्जा नपाउँदा आन्दोलनमा उत्रेको विषयलाई नगरपालिका कार्यालयले गम्भीरता पूर्वक लिँदै समस्या समाधानका लागि नगरपालिकाको नेतृत्वमा सङ्घर्ष समिति, राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले जग्गाधनी प्रमाण पत्र उपलब्धका लागि सक्रिय पहल गर्ने दुबैले हस्ताक्षर गरेको सहमति पत्रमा उल्लेख छ ।

कार्यवाहक नगर प्रमुख परविनले सहमतिको पूर्ण पालना र कार्यान्वयन गराउन आफुले पहल थाल्ने बताउनुभयो ।

“नगरसभा हुनु अगावै लालपुर्जाविहीन नगरका करिब पाँच हजार परिवारले लालपुर्जा प्राप्त गर्न सकुन भन्ने आफ्नो पनि चाहना हो” कार्यवाहक नगर प्रमुख परवीनले भन्नुभयो, “यसका लागि नगरपालिका कार्यालयको इमान्दार र सक्रिय प्रयास सुरु गरिने छ ।”

नगरपालिकासँग भएको सहमति कार्यान्वयन हुने विश्वास राखेको भन्दै विगत जस्तै धोखा भए हालका लागि स्थगित गरिएको आन्दोलन पुनः चर्काउने सङ्घर्ष समितका संयोजक अन्सारीले बताउनुभयो ।

२०१६ सालमा स्थापना भएको राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रका पाँच हजार दुई सय परिवार अझै लालपुर्जा पाउन सकेका छैनन् ।