• ७ भदौ २०८२, शनिबार

अझै सकिएन भूकम्पको विस्तृत क्षति आँकलन

blog

टाठाबाठाका पक्की घर पुनर्निर्माण, जोखिममा रहेका कच्ची घर मर्मत

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ ७ गते । २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति गरेका निजी आवासको क्षतिको विवरण सङ्कलनको कामप्रति यहाँका स्थानीय सरकार प्रमुख र सरोकारवालाले आक्रोश पोखेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै किस्ताबन्दीमा पालिका अनुसार उपलब्ध गराइरहेको भूकम्पबाट भएको क्षतिको विस्तृत आँकलन (डिडिए) को काम प्रभावकारी नभएको भन्दै डिडिए पुनः हुनुपर्ने माग गरेका छन् । 

रुकुमपश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले प्राधिकरणको बदमासीका कारण क्षतिको यथार्थ विवरण आउन नसकेको आरोप लगाउनुभयो । उहाँले नगरपालिकाभित्रका नौ हजार ३६७ घरको क्षति आँकलन गरिए पनि चार हजार पाँच सयको मात्र रिपोर्ट आएको बताउनुभयो । त्यसमध्ये तीन हजार २१३ वटा मात्र पुनर्निर्माणमा परेको बताउँदै केसीले टाँठाबाठा व्यक्तिले फरक घर देखाउँदा पुनर्निर्माणमा परेका तर कच्ची घरमा बसेकाको बेवास्ता गरिएको आरोप लगाउनुभयो । एउटै प्रकृतिका घर फरक फरक रिपोर्टमा समावेश हुँदा गाउँमा विवाद बढेको छ । 

स्थानीय तहका प्रमुखले डिडिए हुँदा पालिकालाई भूमिकाविहीन बनाउँदा बाहिरबाट आएका कर्मचारीले सत्य विवरण सङ्कलन गर्न नसकेको जनाएका छन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले डिडिए गर्न आएका कर्मचारीलाई ४५ दिनको ठेक्का दिए जस्तो गरेर पठाएकाले सही रिपोर्ट बन्न नसकेको बताउनुभयो । उहाँले सहरबजारमा घर भएकाले अन्यत्र घर छैन भन्दै झुट बोलेको कुराका आधारमा डिडिए रिपोर्ट बनाएको दाबी गर्नुभयो । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले छ हजार ६८ घर डिडिए भएकोमा दुई हजार १३३ को मात्र रिपोर्ट आएको तर तलमाथि परेर आएको जनाउनुभयो । यो समस्याबारे गुनासो गर्ने संयन्त्रसमेत नभएको र माथिल्लो तहमा विपत् बुझेको कर्मचारीकै अभाव देखिएको विष्टले बताउनुभयो । उहाँले सबै कुरा राम्रा छन् भन्ने अवस्था नरहेकाले डिडिए रिपोर्ट सच्चाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।  

चौरजहारी नगरपालिका–१ का विजय विष्टले बजारमा पक्की घर भएकाको पुनर्निर्माणमा परेको तर टहरामा बस्न बाध्य भएकाको घर मर्मतमा राखिएको गुनासो गर्नुभयो । रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जिल्ला सदरमुकाम, नेपालगन्जलगायतका सहरमा पक्की घर भएकाको विवरण पुनर्निर्माणमा पर्नु अत्यन्त दुर्भाग्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुलबहादर जिसीले डिडिएको विषयमा व्यापक गुनासो आएको बताउनुभयो । उहाँले वडाध्यक्ष चनाखो भएर प्रभावितलाई वास्तविकता बुझाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।