• ७ भदौ २०८२, शनिबार

सप्तरी कारागारमा तीन गुनाभन्दा बढी कैदी बन्दी

blog

राजविराज कारागार । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), भदौ ७ गते । 
सप्तरीको राजविराजस्थित रहेको कारागारमा तीन सय ९० जना कैदी बन्दीहरू रहेका छन् । एक सय २५ जना कैदी बन्दी अटाउने क्षमता भएको यस कारागारमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरू रहेका छन् ।

कारागारमा कैद तोकिएका कैदी दुई सय ५१ रहेकोमा पाँच जना महिला रहेका छन् । कैद नतोकिएका बन्दी एक सय ३९ जना पूर्पक्षका लागि थुनामा रहेकामध्ये १३ जना महिला रहेको छन् । यस कारागारमा जम्मा १८ जना महिला रहेका छन् । कारागारमा रहेका महिलासँग पाँच वर्ष मुनीका तीन जना बालबालिका रहेका छन् । यश कारागारमा १५ जना भारतीयले पनि कैदी बन्दी जीवन बिताइ रहेका छन् ।

मुलुककै जेठो कारागारहरू मध्ये एक रहेको यस कारागारको भवनको अवस्था एकदमै दयनीय रहेको छ । कारागारको सुरक्षाको मेरूदण्ड बन्दी तर्फको पर्खाल पुरानो माटोको जीर्ण रहेकोले यो कारागार सुरक्षाको दृष्टिकोणले एकदमै जोखिम रहेको तत्काल मर्मत सम्भार गर्ने आवश्यकता रहेको कारागार प्रमुख गङ्गालाल योगीले जानकारी दिनुभएको छ ।

कैदी बन्दीहरूको सकारात्मक सोच र मानशिक स्वास्थका लागि ध्यान, मेरिटेसन र क्षमता अभिवृद्धिका लागि सीप मुलक तालिमहरू सञ्चालन गर्नुपर्ने भए पनि कारागारको जग्गा स्थानीयले अतिक्रमण गरेर घर बनाएर बसेपछि ठाउँको अभावमा चाहँदा चाहँदै पनि गर्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुुभयो, ‘‘आन्तरिक वातावरण सहज भए पनि मुख्य सुरक्षाको पर्खाल जीर्ण भएकाले असुरक्षित महसुस भइरहेको छ । पर्खालबाटै हाम फालेर केहिदिन अघि एक जना कैदी यस कारागार बाट भागेको थियोे ।’’ सुरक्षित पर्खालका लागि सहयोग एकदमै आवश्यक रहेको उहाँले बताउनुभयो ।

कारागारमा भएको बालबालिकाका स्वास्थ्यमा ख्याल राखेर उनीहरूका लागि पौष्टिक आहार, पढनका लागि किताब तथा खेल्ने सामग्रीको व्यवस्था गर्न लगाएको उहाँले बताउनुभयो ।